गुराँस, प्राइम र युनियन मर्ज भई हिमालयन लाइफ बन्ने
काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबीच मर्जर गर्ने अन्तिम सम्झौता भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थितिमा तीन कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो । यसअघि नै तीन कम्पनीबीच मर्जरको सैद्धान्तिक सहमित काम अगाडि बढेको थियो । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको सेयर स्वाप रेसियो १ ः १ ः १ कायम गरिएको छ । डिडिए रिपोर्टका आधारमा स्वाप रेसियोमा अन्तिम सहमति भएको कम्पनीले जनाएका छन् । मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण रहने सम्झौता भएको छ । अध्यक्ष र सीईओ दुबै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका हुन् । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । यूनियन लाइफका प्रवर्द्धकको अगुवाइमा गत वर्ष हिमालयन रि इन्स्योरेन्स खुलेको थियो । कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरि कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापन सम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गर्ने समेत सहमति भएको यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकतृ मनोज कुमार लाल कर्णले जानकारी दिए ।