चितवनमा ५५, बारामा ४८ र तनहुँमा ४५ प्रतिशत मत खस्यो
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा तीनवटा निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार चितवनमा ४५ प्रतिशत मत खसिसकेको छ । यो नतिजा अपराह्न पौने ४ बजेसम्मको हो ।
यसैगरी बारामा ४८ प्रतिशत मतदान भइसकेको छ भने तनहुँमा ४५ प्रतिशत मतदान भइसकेको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।
यस्तै, बारा क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । बारामा जारी उपनिर्वाचनमा छिटफुट घटनाबाहेक शान्तिपूर्वक रुपमा मतदान भइरहेको छ ।
देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन बिथोल्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारामा जारी मतदान बिथोल्न खोज्ने रौतहट जिल्ला बौधीमाई नगरपालिका ४ का बृजकिशोर प्रसाद यादव, रौतहट वृन्दावन नगरपालिका १ का दायाराम राउत र उमेश यादव पक्राउ परेका छन् ।
यस्तै, बारा जिल्ला प्रसौनी गाउँपालिका ४ का मङ्गल प्रसाद साह, बारा कै देवताल गाउँपालिका ७ का रामसागर यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए ।