शिक्षकका न्यायोचित माग सम्बोधन गरिनुपर्छ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले शिक्षकले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्ने बताएका छन् ।

नेपाल शिक्षक महासंघको आयोजनामा बुधबार देशभरका शिक्षकले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहँदा शर्माले सो कुरा बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । वर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎन मार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ । हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’

प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने तथा गराउने कर्तव्य राज्यको भएको बताउँदै उनले प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व भएको बताए ।

उनले संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल पनि गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *