आईसीसी यू-१९ विश्वकप : आज नेपालले पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दै
काठमाडौं । आज नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।
समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ । २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।
आजको खेलमा नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी-२० आई खेल खेलेका छन् । भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ ।
बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हुन् । यता ब्याटिङमा देव खनाल, अर्जुन कुमाल र गुलशन झा प्रमुख हुनेछन् ।
न्युजिल्यान्डको टोली :
टम जोन्स, जेम्स नेल्सन, लाचलान स्टकपोल, एलेक्स थोमप्सन, ओस्कर ज्याक्सन (कप्तान), ज्याक कमिङ, ओलिभर टेवाटिया, म्याट रवे, इवाल्ड श्रेडर, रयान त्सोगर्स, ल्यूक वाटसन, मासन क्लार्क, साम क्लोड, स्नेहिथ रेड्डी र रबी फोल्क्स ।
नेपालको टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।