विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू ः शिक्षा मन्त्रालय
काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यता लिएका कलेजमा भर्ना हुँदा ध्यान पुर्याउन सरकारले आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कतिपय कलेजले नियमविपरीत सञ्चालन भइरहेकाले भर्ना हुनुपूर्व कलेजबारे जानकारी लिन भनेको हो । मन्त्रालयले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयबाट नियमानुसार मान्यता प्राप्त गरेका कलेजबाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्ष सञ्चालन गरिरहेका कलेज,शिक्षण संस्थाहरूका स्नातक र सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना राम्रोसँग बुझौँ । यस्तै, मन्त्रालयले एक सूचना जारी गर्दे अन्तराष्ट्रिय कार्यक्रम सञ्चालन गरिरहेका तीन वटा कलेजमा विद्यार्थीलाई भर्ना नगर्न आग्रह गरेको छ ।
काठमाडौंको बानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेज, ललितपुरको खुमलटारमा रहेको नेपाल एजुकेशन फाउण्डेशन कन्स्रोटियम अफ कलेजमा र जनकपुरको कश्यपइन्सिच्युट अफइन्जिनिएरिङ कलेजमा भर्ना नहुन मन्त्रालयले आग्रह गरेको हो । काठमाडौंको बानेश्वरमा ग्लोबल इन्टरनेश्नल कलेज अहिलेको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेको कारण विद्यार्थी गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । यस्तै नेपाल एजुकेशन फाउण्डेशन कन्स्रोटियम अफ कलेज स्थानान्तरणको प्रक्रीयामा रहेका कारण भर्ना गर्न नमिल्ने र जनकपुरको कश्यप इन्सिच्युट अफ इन्जिनिएरिङ कलेजको समकक्षता सम्बन्धि विषयमा सर्वोच्च अदालतमा मुद्दा विचारधीन अवस्थामा रहेकाले विद्यार्थीलाई भर्ना नहुन भनेको हो । उच्च शिक्षा हासिलका लागि मन्त्रालयबाट मान्यता प्राप्त ५६ वटा कलेजमा मात्र भर्ना हुन भन्दै आफ्नो वेबसाइटमा ती विद्यालयको नामावली राखेको छ ।