सार्वजनिक सवारीमा सीसीटीभी फुटेज राख्न गृह मन्त्रालयको निर्देशन
काठमाण्डौं । गृह मन्त्रालयले सार्वजनिक सवारी साधनमा सीसीटीभी फुटेज राख्न निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नारायणगढ( मुग्लिन सडक खण्डको पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशुली नदीमा खसेर वेपत्ता भएको घटनाको सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै १२ बुँदे निर्देशन दिएको हो ।
मन्त्रालयले सवारी साधनमा जीपीएस प्रणाली जडान गर्ने,तीव्र गति नियन्त्रण गर्न सवारी साधनमा गति सीमित गर्ने उपकरण जडान गर्ने, यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउने लगायत निर्देशन दिएको हो । त्यसैगरी, लामो दुरीमा चल्ने सवारीमा कम्तीमा अनिवार्य दुई जना सवारी चालकको व्यवस्था गर्ने, मुलुकभर चल्ने सवारी साधनको तेस्रो पक्ष बीमा अनिवार्य गर्ने र सवारी साधनको नियमित मर्मतसम्भार, जाँच गर्ने तथा पुराना सवारीसाधन प्रयोगबाट हटाउन पनि निर्देशन दिएको छ ।
