दाइजोः सम्पत्तिको ‘बर्नभिटा’
पट्याक ! पट्याक ! पट्याक !
आवाजै जोसिलो !
ब्रान्ड— हात्तिछाप । नम्बर— ११ । खुट्टाभन्दा अलि लामो तर खुट्टासँग लपक्कै मिलेको । जस्तो— मासुसँग जिब्रो ।
कुर्कुच्चो, बुढी औंला र औंलामुनिको उठेको भागको प्रतिस्पर्धा— चप्पल कसले बढी खियाउने ? माटो कसले बढी छुने ?
लाग्थ्यो— यो चप्पल चप्पल होइन, मात्र खुट्टाको फ्रेम हो ।
चप्पल लगाई खुट्टा टेक्दा आधाजस्तो पैतालांग जिमिनमा पर्थे । जिमिनमा खुट्टा पर्दा देशको माटो छोइन्थ्यो । काउकुती चल्थ्यो । पैतालाको काउकुती उम्लिएर तालुमा पुग्थ्यो । अनि तालुबाट पोखिएर छातितिर झथ्र्यो । मुटुले ध्याप्प टिप्थ्यो । राष्ट्रपिरिम सल्किन्थ्यो । राँकिदो राष्ट्रपिरिमको मुस्लो नसा–नसा बहन्थे । कोष–कोषमा भर्भराउँथे ! हैट् । हुटहुटीले पूरै ज्यान लंका सल्काउँदै हिँडेको हनुमानजीको पुच्छर भएको अनुभव हुन्थ्यो । लाग्थ्यो—कहाँ गएर झोसिऊँ !
अन्तिममा गएर राजनीतिमा झोसिइयो । फाटेको चप्पलबाट खुट्टाको कुर्कुच्चाले देशको माटो छोएर कसम खाइयो— परान रहुन्जेल देशका लागि लडिन्छ ।
फेरि अर्को एक पन्यु कसम थपियो— जनताको मुक्तिका लागि लडिन्छ ।
ए बाबा रे ! अझ पो अघाइँदैन हौ ! फेरि अर्को पन्यु कसम थपेर उग्राउँदै भनियो— मैजस्ता कुर्कुच्चा र पैताला फाटेका चप्पल लगाउने सर्वहारा वर्गको वर्गीय मुक्तिका लागि लडिन्छ । सास रहुन्जेल लडिन्छ !
जिन्दगीले नयाँ मोड लियो— राजनीतितर्फको । बाटो फेरियो, चप्पल फेरिएन । चप्पल पड्किने हुँदी माटो उछालेर डडाल्नुमा बुट्टा भर्थे । कहिले टाउकोसम्म पुग्थे । नचिनिने बनाउँथे । भूमिगत जीवन जो थियो । पुलिससँग लुकामारी चल्थ्यो । कहिलेकाहीँ यही चप्पलको आवाजले पुलिसको सामुन्ने पुर्याउँथ्यो । कहिले यसैले नचिनिने बनाएर ‘ढ्याप्पा !’ गराउँथ्यो । जेहोस्— चप्पल सहयात्री थियो, शुरुवाती राजनीतिको ।
अचम्म भो ! चप्पल पड्काएरै पिरिम पारियो । परेको पिरिमले ससुराबाको घरसम्म पुर्यायो— प्रेमिकाको हात माग्न । ‘तँलाई ठेट्ना’ भनेको मात्रै याद छ । बूढाले झट्टी हानेको लठ्ठी २ अंगुलले छलेको मात्रै याद छ । के भयो— सोचुन्जेल आफ्नै घरको चोटामा पुगिसकिएछ ।
राजनीतिक प्रशिक्षणमा सुनिन्थ्यो, कतै भनिन्थ्यो पनि, “अधिकार मागेर होइन, खोसेर लिनुपर्छ ।”
नदिए खोसिन्छ भन्ने नियम यता लगाइयो । मञ्च बनाइयो । भाषण चुटियो । बत्ती बालियो । ताली बजाइयो । कसम खाइयो— सँगै बाँच्ने । काल अन्सार पालैसँग मर्ने ! जनवादी बिहे खत्तम् । न बाजा, न डोली, न त दाइजोपात । खुबै क्रान्तिकारी होइयो त्यसताक । उता ससुराबालाई दुई दिन नाङ्लै हम्किन परेछ । तेस्रो दिन बौरिएछन् ।
जिन्दगी एक पांग्रे थियो— बारीको पाटामा पाइप गुडाएजस्तो । अब दुई पांग्रे भो । उनी र म एकै रथका । जिन्दगीको रथ बेतोडले कुद्न छाड्यो । जनआन्दोलन सफल भयो । पार्टीले चुनावमा उठायो ।
उल्का भो ! जितियो ! सांसद् बनियो । झन् उल्का— भोलिपल्टै ससुरा बा आफ्नो अघि खडा । ‘लौ बिताए’ भनेर लठ्ठी छल्ने जुक्ति सोच्दै थिएँ, बूढाले त गोजीबाट दुई थान आधा–आधा तोलाको सुनको असर्फी पो निकाले ।
“छोरी र ज्वाइँलाई बिहेमा लगाइदिन असर्फी बनाएर राखेको थिएँ । बूढो हात भर पाउँदैनथ्यो । हातबाट लठ्ठी फुस्क्यो भन्दैमा कुलेलम ठोक्नु पथ्र्यो ? आवेशमा आएर जनवादी बिहे गर्नु पथ्र्यो ?” भन्दै दुई थान असर्फी दाइजो दिएर गए ।
आधा तोलाको असर्फी साह्रै पातलो । मुठी बाट्दा नि रिंग कच्याककुचुक होला भन्ने डर । सिक्का फुस्केला भन्ने डर । त्यसैले अब यी असर्फीहरूलाई मोटाउनु पर्यो भनेर ‘बर्नभिटा’ खुवाउन थलियो । अनि त बर्नभिटाले कमाल देखाउन थालिहाल्यो । खुवाएको केही समयमै आधा तोलाको असर्फी एक तोला भयो । हामीले झन् हौसिएर बर्नभिटा खुवाउन थाल्यौं । अनि त केही महिनामै २–३ तोलाको भएर औंलामा नअटाउने भएसी फुकालेर राखियो ।
एक–डेढ वर्षपछिको कुरा हो । म स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटन गर्न गएथें । सुनौलो आवाजमा ‘आइरन चक्की’ मागिरहेको सुनें । ‘क्या हो ए !’ भनेर यसो हेर्छु त ससुराबाले दाइजो दिएका तिनै असर्फीहरू पो स्वास्थ परीक्षणका लागि आएका रहेछन् । असर्फिनी गर्भवती भइछन् ।
त्यसपछि असर्फी र असर्फिनी मिलेर घरमा गुँड लगाए । केही समयमा असर्फिनीले २७ वटा सुनको अण्डा पारिन् । केही अण्डा बेचेर घर खर्च टारियो । केही अण्डा गालेर श्रीमतीजीले गहना लगाइन् । केही अण्डा कोरल्न दिइयो । कोरलेको अण्डाबाट असर्फीका चल्ला निस्किए । असर्फी र असर्फिनी टाढा–टाढा गएर चल्लाहरूलाई चारो ल्याएर खुवाउँथे । मेरो पालो— चल्लालाई नि बर्नभिटा खुवाउन थालें । प्यालेट दाना खुवाएका कुखुराका चल्लाझैं असर्फीका चल्ला नि ह्वारह्वार्ती बढ्न थाले । अनि त असर्फी असर्फिनीलाई नि सजिलो हुन थाल्यो । फेरि असर्फिनीले अर्को लट अण्डा पारिन् । हामीले जग्गा जोड्यौं । त्यसपछि त चल्लाहरू नि ठूला भएर अण्डा पार्न थाले । अनि महल बने । गाडी किनिए ।
त्यसपछि पनि असर्फी र तिनका सरसन्तानले अण्डा पारिरहे । जिन्दगीमा ऐश्वर्य छायो । राजनीतिमा नि नयाँ–नयाँ मौका मिल्दै गयो । यसपालि मन्त्री बन्ने मौका मिल्यो । सम्पत्ति विवरण भर्नुप¥यो । लेखियो, “दाइजोमा प्राप्त सय तोला जति सुन, बंगला, गाडी, जग्गा अकडम् बकडम् ।”
मान्छे उडाउँछन्, “अस्तिसम्म सम्पत्तिको नाममा त्यही एकजोर कुर्कुच्चा प्वाल परेको चप्पल छ भन्थे । चुनाव खर्चसमेत छैन भनी हात पसारे । अहिले त्यत्रो सम्पत्ति ?”
ए बाबा ! दाइजो नै सम्पत्तिको बर्नभिटा बन्यो त मेरो के लाग्यो ? नत्र म सर्वहाराको के हुनु ? कठै ।
— मन्त्रीनाथ सर्वहारा
सिंहदरबार, काठमाडौं