धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता रोकियो
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आज हुने भनिएको तीन जना उम्मेदवारको अन्तर्वार्ता रोकिएको छ ।
अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज हुने जानकारी गराएको थियो । स्रोतका अनुसार अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती रोकिएको हो ।
अर्थ मन्त्रालयले बोर्डको अध्यक्षका लागि कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीको नाम अन्तिम सूचीमा राखेको छ । सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतीमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।
बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि खाली रहेको छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।