पूर्वराष्ट्रपतिलाई पार्टीमा ल्याउन दौडधुप नगर्नोस् – प्रधानमन्त्री ओली
काठमाडौं । आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन दौडधुप गर्नुको कुनै तुक नरहेको बताएका छन् । उनले पार्टीमा आउनुपर्यो भन्दै भण्डारीलाई नभेट्न नेता–कार्यकर्तालाई सचेत गराए । पूर्वराष्ट्रपतिकहाँ गएर (पार्टीमा) आइदिनुपर्यो भन्ने कुराको कुनै तुक छैन, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ ।
पूर्वराष्ट्रपति भण्डारीमा एमाले अध्यक्ष बन्ने चाहना रहेको नेताहरू बताउँछन् । तर, उनले औपचारिक रूपमा मुख खोलेकी छैनन् । एमालेको ११औँ महाधिवेशनमा भण्डारीलाई देखिने चर्चा एमालेवृत्तमा छ । उनलाई पार्टीमा क्रियाशील बनाउन नेताहरू सक्रिय छन् । राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेपछि भण्डारी चपलीमा आफ्नै घरमा बस्दै आएकी छन् । सरकारी सुविधा नलिएकाले उनी राजनीतिमा आउन सक्ने आकलन गरिँदै आएको छ । कार्यशालामा ओलीले पार्टीमा गुट नरहेको जिकिर गरे । उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा गुटको राजनीति नगर्न समेत चेतावनी दिए ।