संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्न गम्भीर भएर लाग्नु पर्ने बताएका छन् ।
संविधानमा गरिएका व्यवस्था कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने उनको भनाइ छ । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्ने क्रममा आउने अप्ठ्याराहरूको विकल्प भने खोज्न सकिने बताए । केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस भएको उनले बताए ।
‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्ने कुरामा गम्भीर बन्न सकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो । भएका विषय कार्यान्वयन नगरीकन अन्त भड्किन थाल्यौँ भने राम्रो हुँदैन,’ उनले भने ।
अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरूको रक्षा गर्न जरुरी रहेको भन्दै ती उपलब्धिहरूको सम्प्रेषण राम्रोसँग नहुँदा समस्या पैदा भइरहेको उनको तर्क थियो ।