दयाहाङ र विजय बरालको ‘वरिष्ठ बलराम’ को निर्देशन सुरेन्द्र पौडेलले गर्ने
काठमाडौं । नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन् ।
वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार सिनेमाको औपचारिक घोषणा गरेका हुन् । चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् भने छायाङ्कन आगामी फागुनको पहिलो साताबाट सुरु गर्ने तयारी गरिएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहनेछन् । सिनेमा २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। हालसम्म दयाहाङ र विजय मात्र फाइनल भएका छन् भने दयाहाङको अपोजिटमा रहने नायिकाको नाम भने निर्माणपक्षले खुलाएको छैन। अन्य कलाकारको चयन तथा प्राविधिक टोलीबारे निर्माण पक्षले क्रमशः जानकारी दिने बताएको छ । केही दिनमै सार्वजनिक गरिने टिजरमार्फत थप कलाकारको नाम सार्वजनिक गर्ने योजना निर्माण टिमको छ। फिल्मको छायाङ्कन तराईका विभिन्न स्थानमा गरिनेछ ।
‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मलाई लिएर दर्शकमाझ उच्च अपेक्षा रहेको छ भने सामाजिक कथावस्तुले दर्शकलाई सन्देशमूलक मनोरञ्जन दिने निर्माण पक्षको विश्वास छ ।