आईपीएल क्रिकेट आजदेखि सुरु हुँदै
काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ । उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्ने छन् । खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि कोलकातास्थित इडेन गार्डेन्समा सुरु हुनेछ । उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय छ । अभिनेत्री दिशा पटनी, गायिक श्रेया घोसाललगायतको प्रस्तुति रहनेछ ।
गत सिजनको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै तेस्रो उपाधि जितेको कोलकाताले पहिलो खेलदेखि नै विजयी सुरुवात गर्दै उपाधि रक्षा गर्ने अभियानमा हुनेछ । त्यस्तै हालसम्म उपाधि जित्न नसकेको बेंगलुरु यसपटक नयाँ कप्तानको साथमा पहिलो उपाधि जित्ने लक्ष्यमा फेरि पनि रहनेछ । सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् । त्यस्तै कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १(१ पटक उपाधि जितेका छन् ।