अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय ढाँचामा समाहित नगरी समावेशी र समृद्ध अर्थतन्त्र सम्भव छैन : अध्यक्ष ढकाल
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक प्रणालीमा रूपान्तरण नगरी दिगो र प्रतिस्पर्धी अर्थतन्त्र सम्भव नरहने बताएका छन्। आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा तथा अन्तरराष्ट्रिय श्रम सङ्गठनको सहयोगमा सम्पन्न अन्तर्क्रियात्मक कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। अध्यक्ष ढकालले भने, अनौपचारिक अर्थतन्त्रलाई राष्ट्रिय ढाँचामा समाहित नगरी समावेशी र समृद्ध अर्थतन्त्र सम्भव छैन। अब यो विकल्प होइन, आवश्यकता हो। उनले औपचारिकीकरणलाई प्रशासनिक प्रक्रिया मात्र नभई राष्ट्रिय आर्थिक सुधारको मेरुदण्डका रूपमा लिनुपर्ने बताए।
उनले व्यवसाय दर्ता प्रणालीलाई सरल, डिजिटल र छरितो बनाउनुपर्नेमा जोड दिंदै कर प्रणाली पारदर्शी, स्पष्ट र व्यवसायमैत्री हुनुपर्ने आवश्यकता औँल्याए। साथै, अनौपचारिक क्षेत्रका व्यवसायहरूलाई औपचारिक प्रणालीमा ल्याउन सहुलियत, सीपमूलक तालिम तथा विशेष कार्यक्रम आवश्यक रहेको धारणा राखे। महासङ्घका उपाध्यक्ष हेमराज ढकालले औपचारिकीकरण अभियानमा महासङ्घको सक्रिय सहभागिता रहँदै आएको उल्लेख गरे। उनले सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीच सहकार्यको खाँचो रहेको स्पष्ट गरे। यस्तै, उपाध्यक्ष तथा रोजगारदाता परिषद् सभापति ज्योत्सना श्रेष्ठले साझा पहलले मात्रै औपचारिकीकरण सम्भव हुने बताउँदै महिला, युवा तथा ग्रामीण उद्यमका लागि लक्षित कार्यक्रम आवश्यक भएको बताइन्। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं औपचारिकीकरण समितिका अध्यक्ष प्रदीपकुमार कोइरालाले समितिको काम प्रभावकारी रूपमा अगाडि बढिरहेको र यो प्रक्रिया निरन्तर चलिरहने जानकारी गराए।