काठमाडौँमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना हुँदै

काठमाडौँ । भारतमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि लक्षित गर्दै काठमाडौँमा ‘स्टडी इन इन्डिया एक्स्पो’ आयोजना हुने भएको छ। अफेयर्स नेपाल प्रा.लि.को आयोजनामा साउन २३ र २४ गते (८–९ अगस्ट २०२५) द एभरेस्ट होटल, काठमाडौँमा दुई दिने शिक्षा मेला सञ्चालन हुने भएको हो । नेपालमा भारतीय उच्च शिक्षासम्बन्धी सबैभन्दा पुरानो र भरपर्दो शिक्षा मेलाको रूपमा परिचित यस एक्स्पोमा भारतका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुनेछन्। आयोजकका अनुसार मेलामा सहभागी संस्थाहरूका प्रतिनिधि वा तिनका आधिकारिक नेपाली कन्सल्ट्यान्टमार्फत विद्यार्थीहरूलाई अध्ययनसम्बन्धी सुसूचित मार्गदर्शन प्रदान गरिनेछ। मेलामा विज्ञान, व्यवस्थापन, मानविकी लगायत विभिन्न विषयका स्नातक, स्नातकोत्तर, प्राविधिक तथा व्यावसायिक कोर्सहरूमाथि जानकारी प्रदान गरिनेछ।

अफेयर्स नेपालका संस्थापक तथा प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार, एक्स्पोले विद्यार्थी र अभिभावकलाई मैत्रीपूर्ण र जानकारीमूलक वातावरणमा विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने मौका दिनेछ। विद्यार्थीहरूले पाठ्यक्रम छनोट, भर्ना प्रक्रिया, योग्यता मापदण्ड, शुल्क संरचना, छात्रवृत्ति, करियर सम्भावना, छात्रावास सुविधा, क्याम्पस पूर्वाधारलगायतका विविध पक्षमा जानकारी लिन सक्नेछन्। आयोजकको अनुमान अनुसार ५,००० भन्दा बढी विद्यार्थी र अभिभावकले एक्स्पोमा सहभागिता जनाउनेछन्। इन्जिनियरिङ, पेरामेडिकल, नर्सिङ, डेन्टल, सूचना प्रविधि, मेशिन लर्निङ, डिजाइन, व्यवस्थापन, होटेल म्यानेजमेन्ट, पत्रकारिता, आर्किटेक्चर लगायतका लोकप्रिय विषयमा मेरिट आधारमा स्पट एडमिशन र छात्रवृत्तिको सुविधा पनि उपलब्ध गराइनेछ। ‘विद्यार्थीहरूले रुचि, क्षमता र रोजगार सम्भावनालाई ध्यानमा राखी विषय छनोट गर्नुपर्छ भन्ने सन्देश यो एक्स्पोमार्फत दिन खोजिएको छ,’ थपलियाले भने। भारत नेपाली विद्यार्थीहरूका लागि विश्वस्तरीय शिक्षा, कम लागत, सांस्कृतिक निकटता र विषयवस्तुको विविधताको कारण लोकप्रिय गन्तव्य बनेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *