हर्षोल्लासका साथ मनाइयो गौरा पर्व
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले उमा-महेश्वर र दुवोसहितको पूजा गरी उज्याली गौरा तथा दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरी यो पर्व मनाइएको हो, जहाँ देउडा गीत र नृत्यले रौनक थपिएको थियो । परम्परागत पोशाकमा सजिएका महिलाहरूले देउडा नृत्य प्रस्तुत गर्दै सांस्कृतिक पहिचान झल्काए । यो पर्व सामान्यतः भाद्र शुक्ल अष्टमीमा मनाइन्छ, तर यस वर्ष अगस्त्य ऋषिको उदय भाद्रअघि नै भएकाले श्रावण शुक्ल अष्टमीमा मनाइयो । शास्त्रीय मान्यताअनुसार, अगस्त्य ऋषिको उदय भएका वर्षमा गौरा श्रावणमै मनाइन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई ‘उज्याली’ र कृष्ण पक्षमा मनाइने गौरालाई ‘अँध्यारी’ भनिन्छ ।
पहिलो पटक व्रत बस्नेले उज्याली गौराबाट सुरु गर्नुपर्ने मान्यता रहेको छ । मानसखण्ड, निर्णय सिन्धु र हेमाद्रीजस्ता ग्रन्थमा सूर्य सिंह राशिमा रहँदा (भदौमा) गौरा मनाउनुपर्ने उल्लेख छ, तर कन्या राशिमा सूर्य प्रवेश गरेपछि (असोजमा)यो पर्व मनाउनुहुँदैन । गौरा पर्व सुदूरपश्चिम र मध्यपश्चिममा ऐतिहासिक र मौलिक पर्वका रूपमा लिइन्छ ।
यो पर्व विशेष गरी महिलाहरूले मनाउँछन्, तर पछिल्लो समय पुरुषहरूको पनि उत्तिकै सहभागिता छ । गौरा र महादेवको पूजा गर्दा मनोकामना पूरा हुने र जीवनमा आनन्द प्राप्त हुने विश्वास छ ।
















