काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा र निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ । ५ देखि ६५ वर्ष उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै तयार गरिएको यस योजनाले हस्पिटल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण र दुर्घटना उपचारसम्मका सुविधा उपलब्ध गराउँछ । बीमांकको विकल्प २ लाख, ३ लाख र ६ लाख रुपैयाँ रहेको छ भने प्रारम्भिक प्रिमियम मात्र १ हजार ३९९ बाट सुरु हुन्छ । यसअन्तर्गत बीमितले नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिमबर्समेन्ट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालमा क्यासलेस उपचार सुविधा पनि उपलब्ध हुनेछ, जसले आकस्मिक स्वास्थ्य अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ । योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ कन्सल्टेसन सेवासमेत समावेश गरिएको छ, जसले बीमितलाई घरमै स्वास्थ्य सल्लाह लिन सहज बनाउँछ । ईसेवा एपमार्फत केही मिनेटमै ग्राहकले बीमा पोलिसी एसएमएस र इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।