दोलखा हिमपहिरोका घाइते चारजनालाई काठमाडौं ल्याइयो

काठमाडौं । दोलखामा हिमपहिरोमा परी घाइते भएका चारजनालाई उपचारका निम्ति मंगलबार (कात्तिक १८) बिहान काठमाडौं ल्याइएको छ । हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरूलाई काठमाडौं पठाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद रिसालले जानकारी दिए । घाइते भएका दुई विदेशी र दुई नेपालीलाई काठमाडौं ल्याइएको हो । दुई विदेशीलाई उपचारका निम्ति सोह्रखुट्टेस्थित इरा इन्टरनेसनल अस्पतालमा पठाइएको उनले बताए । घाइते दुई नेपालीलाई भने मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा लगिएको उनले जानकारी दिए । निजी कम्पनीको एभरेस्ट हेलिकोप्टर (हेली एभरेस्ट)बाट उद्धार गरेर उपचारका लागि चारजनालाई काठमाडौं लगिएको छ । हिमपहिरोमा परेका बाँकी व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । हिमपहिरोमा सातजनाको मृत्यु भएको भनिए पनि सबैजनाको शव संकलन नभएको उनले जानकारी दिए । बेस–३ मा पुग्नुभएकाहरूबाट तीनजनाको शव फेला परिसकेको भन्ने सूचना तल दिनुभएको छ, अरूको खोजी गरिँदै छ ।

सोमबार (कात्तिक १७) बिहान करिब १० बजे दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित यलुङ री हिमालमा हिमपहिरो खसेको हो । त्यति बेला त्यहाँ रहेका करिब १२ जनाको टोली हिमपहिरोमा परेको थियो । हिमपहिरोमा परेका मध्ये अर्का एकजनाको अवस्था गम्भीर रहेको र उनलाई पनि काठमाडौं पठाउने तयारी भइरहेको सीडीओ रिसालले जानकारी दिए । यलुङ री पाँच हजार ६३० मिटर उचाइको हिमाल रहेको उनले बताए । त्यहाँ उद्धार गर्न कठिनाइ छ, पैदल जान टाढा र अहिले हिँडेर जान सकिने अवस्था नभएको भन्ने स्थानीयबाट जानकारी प्राप्त भएको छ, उनले भने, हेलिकोप्टरबाटै बाँकी उद्धार कार्य भइरहेको छ । गौरीशंकर–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले करिब चार हजार ९०० मिटरको उचाइमा हिमपहिरो खसेको बताए । उनले पनि चारजनालाई उद्धार गरेर उपचारका निम्ति काठमाडौं पठाइएको जानकारी दिए । ती घाइते भने हिमपहिरो खसेको ठाउँबाट जोगिएर आधार शिविरमा आइपुगेका उनले उल्लेख गरे । त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले जानकारी दिए । दुई विदेशी र दुई नेपाली गरी चारजनालाई उद्धार गरेर हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । उहाँहरू हिमपहिरो खसेको ठाउँबाट ज्यान जोगाएर बेसक्याम्प आइपुग्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *