गतिशील लोकतान्त्रिक पार्टीको नीति : १० वर्षमा ५० लाखलाई रोजगारी दिइने
रुपन्देही । गतिशील लोकतान्तित्र पार्टीले पर्यटन सम्बन्धी नीति भैरहवाबाट सार्वजनिक गरेको छ । आज भैरहवामा पत्रकार सम्मेलन गरेर गतिशील लोकतान्त्रिक पार्टीका सदस्य तथा बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ‘नेपाल पर्यटन दृष्टि २०३५’ सार्वजनिक गरेका छन् । बस्नेतले उक्त नीतिमार्फत आगामी १० वर्षमा ५० लाख नेपालीलाई रोजगारी सिर्जना गर्न सकिने र त्यसका लागि नेपाल वायुसेवा निगमलाई पुनरसंरचना गर्नुपर्ने बताए । बस्नेतले निगमलाई वार्षिक ५ वटा जहाज थप्दै १० वर्षमा ५० वटा जहाज संख्या पुर्याउनु पर्ने बताए । उनले गतिशील लोकातान्त्रिक पार्टीले आगामी चुनावमा जनादेश पाए एक वर्षभित्रै निगमलाई पुनरसंरचना गर्ने र तत्कालै तीन वटा वाइडबडी जहाज ल्याइहाल्ने योजना अगाडि सारे । बस्नेतले निगमले जहाज किन्न नगद आवश्यक नपर्ने र लिज फाइनान्सबाट १० प्रतिशत लगानीबाट जहाज भित्र्याउन सकिने बताए ।
उनले १० प्रतिशत लगानीका हिसावले जम्मा २१ अर्ब रुपैयाँ लगानी गर्दा निगमले वाइडबडी जहाज भैरहवाबाट क्यानडाको टोरन्टोसम्म उडान गर्न सकिने अवधारणा सार्वजनिक गरे । निगमको लागि एयरवसको ए३५०–१००० को ३७९ सिट क्षमताको जहाज चलाउन सकिने उनको भनाइ छ । यसका लागि भैरहवाबाट यो जहाज उडान गर्न सकिने प्रमाणित यस अघि कतार एयरलाइन्सले वाइडबडी उडाएर गरिसकेको प्रशंग पनि बस्नेतले जोडे । गतिशील पार्टीले नेपालको पर्यटन क्षेत्रको विकास गर्न नेपाल वायुसेवालाई नै पुनर्संरचना गर्नु गर्ने पहिलो प्राथमिकतामा राखेको छ । निगमलाई ५ वटा जहाज थप गर्दै जाँदा बार्षिक ५ लाख पर्यटक बढाउँदै जाने र १० वर्षमा ५० लाख पर्यटक पुर्याउन सकिने पनि यो पार्टीले सार्वजनिक गरेको अवधारणामा उल्लेख छ । पार्टीले सार्वजनिक गरेको अवधारणा अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै निगमले जहाज थपेसँगै सातामा ३ वटा उडान अवतरण गर्न सक्ने उल्लेख गरिएको छ ।
















