स्वास्थ्य बीमा बोर्डले भुक्तानी गर्यो बाँकि रहेको बक्यौता रकम
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बाँकि रहेको बक्यौता रकम अस्पताललाई भुक्तानी गरेको छ । बोर्डले अस्पतालबाट प्राप्त कागजातको पुनरावलोकन गरी चैतसम्मको बक्यौता भुक्तानी गरेको हो । बोर्डले आर्थिक वर्ष २०७७।७८ देखि बाँकी रहेको अस्पतालको २०८१ चैतसम्मको बक्यौता रकम केही दिनअघि मात्र भुक्तानी गरेको बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिएका छन् । बोर्डले पुरानो भुक्तानी बाँकी नराख्ने गरी नियमित भुक्तानी गर्ने तयारी गरेको उनले बताए । । ‘धेरै वर्षदेखि अस्पतालबाट भुक्तानीका लागि प्राप्त भएका कागजातको पुनरावलोकन गरी हामीले गत असोजसम्मको बक्यौता रकम निकालेका छौँ । अहिले गत चैतसम्मको रकम अस्पताललाई दिएका छौँ ।
उनले यही कात्तिक महिनाभित्रमा वैशाखदेखि असोजसम्मको बाँकी बक्यौता रकम अस्पताललाई उपलब्ध गराइने बताए । काफ्लेका अनुसार अस्पताललाई तिर्नुपर्ने बक्यौता रकमका लागि अर्थ मन्त्रालयसँग माग गरिएको छ । उनले वैशाखदेखि असोजसम्म करिब रु ११ अर्ब रुपैयाँ बक्यौता रहेको जानकारी दिए । बोर्डले बीमित आबद्धबापत वार्षिक रु तीन खर्ब ७२ करोड सङ्कलन गर्दै आइरहेको छ । बोर्डका कार्यकारी निर्देशक डा काफ्लेका अनुसार बोर्डको वार्षिक खर्च भने करिब रु २६ अर्ब रहेको छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । बोर्डमा हाल ९४ लाख बीमित आबद्ध छन् ।
















