चुनावअघि नै महाधिवेशन गर्नुपर्ने कांग्रेस १५ केन्द्रीय सदस्यको निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकटले मध्यमार्गका दबाब सुरु गरेका छन् । पहिले खुमबहादुर खड्का हुँदै कार्यवाहक सभापतिनिकट रहेका केन्द्रीय सदस्यहरूले अहिले दुईवटा प्रस्तावको बीचबाट नयाँ समझदारी हुनुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरूले चुनावपछि महाधिवेशन वैशाखमा पनि हुन नसक्ने निष्कर्षसहित चुनावअघि नै हुनेगरी मध्यमार्गको खोजी गर्ने तयारी गरेका छन् । हाम्रो बीचमा फागुनको चुनाव प्राकृतिक कारणले केही महिना सर्नसक्छ भन्ने बुझाइ रह्यो, एक केन्द्रीय सदस्यले भने, त्यसैले चुनावअघि महाधिवेशन सम्पन्न गर्न सकिन्छ र गर्नुपर्छ भनेर मध्यमार्गको खोजीमा लाग्नुपर्ने निष्कर्ष निकालेका हौँ ।
केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलका अनुसार, भेलामा १५ केन्द्रीय सदस्य सहभागी थिए । उनीहरू सबैले राष्ट्रको विपत्तिका समयमा आन्तरिक विवाद गर्नु उचित नहुने बताए । महाधिवेशनमा बीचको बाटो खोजेर कांग्रेस राष्ट्रिय मुद्दामा नेतृत्वदायी भूमिकामा निस्कनुपर्ने निष्कर्ष निकालेका छन् । अहिले आएका दुईवटा प्रस्तावमा विवाद भइरहेको छ । यो विवादमा बीचको बाटो खोजेर समाधान निकाल्दै पार्टीका राष्ट्रिय जिम्मेवारी पूरा गर्न निस्कनुपर्छ भन्ने छ, कँडेलले भने, महाधिवेशनको विवाद टुंगिएपछि पार्टीले राष्ट्रको संकटबाट निस्कने बाटो एकमुष्ट निकाल्नेछ । पूर्णबहादुरनिकटहरूको भेलामा त्यही समूहका केन्द्रीय सदस्य शंकर भण्डारी भने सहभागी थिएनन् । उनले भने सनातन हिन्दु राष्ट्रको मुद्दासहित राजतन्त्र फर्काएर जानुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा राखिसकेका छन् ।
















