समस्याग्रस्त दर्शन सहकारीका करिब २२ करोडको सम्पत्ति समितिले राख्यो लिलामीमा
काठमाण्डौ । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय सम्पत्ति लिलामीमा राखेको छ । समस्याग्रस्त घोषित कीर्तिपुर स्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताहरुलाई बचत रकम फिर्ता गर्न सो सहकारीसम्बद्ध संस्था तथा व्यक्तिहरुको २२ करोड १० लाख ५५ हजार न्यूनतम मूल्य तोकिएको सम्पत्ति समितिले लिलाम विक्रीमा राखेको हो । काठमाडौंको कीर्तिपुर–५ मा घरसहितको १ कित्ता जग्गा, कीर्तिपुर–१६ मा घरसहितको २ कित्ता जग्गा र भक्तपुरको सिरुटामा रहेको १ र दधिकोटको १ कित्ता गरी जम्मा ४ स्थावनको घरजग्गा लिलाम विक्री आव्हान गरी समितिले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
ईच्छुक बचतकर्ता, संस्था तथा व्यक्तिले सकार्न चाहेमा न्यूनतम मूल्यमा नघट्ने गरी ३५ दिनभित्र गोप्य शिलबन्दी गरी बोलपत्र भर्न सक्ने सूचनामा जनाइएको छ । बागमती प्रदेशको नियमन क्षेत्रमा पर्ने दर्शन बचत तथा ऋण सहकारी संस्थालाई २०८१ कात्तिक ११ गते समस्याग्रस्त संस्था घोषणा गरिएको थियो । समितिले समस्याग्रस्त घोषित संस्थाको सम्पति तथा दायित्व फरफारक गर्ने र बचतकर्ताको बचत रकम फिर्ताको लागि आवश्यक कामकारवाही गर्ने गर्दछ ।
















