समानुपातिकका निम्ति रास्वपाले गर्यो उमेदवारी आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ उमेदवारी आह्वान गरेको छ । पार्टीका तर्फबाट उमेदवार बन्न इच्छुक व्यक्तिहरूबाट शनिबार (कात्तिक २२)देखि आवेदन आह्वान गरिएको हो । रास्वपाले उमेदवार छनोटको विभिन्न मापदण्ड पनि तय गरेको छ । “जेन–जी को स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसंख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ,” रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “त्यसैगरी, प्रवासबाट उमेदवार बन्न फर्किने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।”
रास्वपाले ‘जेनजी’ आन्दोलनका क्रममा भएका मानवताविरोधी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग पनि गरेको छ । “साथै, आउँदा दिनमा राज्यका निकायमा जेन–जी आन्दोलनको भावना र म्यान्डेटअनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गर्दछौँ,” चितवनको सौराहामा बसेको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले सुझाव पेस गरेका थिए ।
“घोषित निर्वाचनको परिणम देश र जनताको सर्वोपरि हित एवं राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा हुने गरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आह्वान गर्दछौँ,” निष्कर्षको दोस्रो नम्बर बुँदामा उल्लेख छ, “पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेन्डा र उमेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुने गरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पंक्तिलाई विशेष आग्रह गर्दछौँ ।” रास्वपाले पार्टीका सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दा राजनीतिक प्रतिशोधको परिणामस्वरूप दायर गरिएको एक नियोजित र बदनियतपूर्ण भएको निष्कर्ष पनि निकालेको छ । “ राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक प्रतिशोधको उपकरणका रूपमा प्रयोग गरिएका मुद्दाहरूलाई न्यायालयले निष्पक्ष, स्वतन्त्र र द्रुत न्यायिक प्रक्रियामार्फत निष्कर्षमा पुर्याउन माग गर्दछ,” विज्ञप्तिमा भनिएको छ । यही कात्तिक २१ र २२ गते सौराहामा रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक बसेको थियो ।
















