राष्ट्रिय सभा चुनावको मंसिर १४ गते निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । राष्ट्रिय सभाको चुनावमा भाग लिने राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि आगामी मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्नुपर्ने भएको छ । आयोगले निकालेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको स्वीकृति र निर्वाचन चिह्न प्रदान मंसिर १४ गते हुनेछ । निर्वाचन कार्यक्रम स्वीकृति र नेपाल राजपत्रमा प्रकाशन गर्ने मंसिर १६ गते गर्ने तालिका छ । मतदाता नामवली (निर्वाचक मण्डल) तयार गरी स्वीकृत गर्ने काम आगामी पुस ५ गते हुनेछ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सोही दिन गर्ने तालिका छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना पुस १६ गते हुनेछ । निर्वाचन कार्यक्रम संचालन पुस २० गते देखि २८ गते सम्म हुनेछ भने निर्वाचन प्रचार प्रसारको समय पुस २८ गतेदेखि माघ ८ गतेसम्म हुने तालिका तय भएको छ । मतदान आगामी माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म हुनेछ । सोही दिन मतगणना सुरु हुनेछ । निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख,उपप्रमुखको मतभार १९ रहेको छ । प्रदेशमा रहेका प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखको संख्यालाई आधार मानेर प्रदेशगत मतभार तयार पारेको हो । कोशी प्रदेशमा १० हजार १३५ मतभार छ । मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१० र लुम्बिनी प्रदेशमा ८ हजार ७५३ मतभार रहेको छ । कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदुरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि चुनाव हुँदैछ । मनोनीत सांसद वामदेव गौत्तमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि चुनाव हुनेछ । कोही प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २,२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट २,२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ । वि.सं. २०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुँदैछन् । उक्त स्थानमा चुनाव हुन लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *