‘संसदीय समितिको निगरानी सुदृढ गर्न मिडियाको सक्रियता अपरिहार्य’
काठमाण्डौं । संसदीय समितिहरूको भूमिका र जिम्मेवारी अझ प्रभावकारी बनाउन मिडियाको निगरानी र सहयोग अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ । समितिहरू शक्तिशाली र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै सहभागीहरूले हालसम्मका दुवै कार्यकालमा समितिहरूको काम सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । संसदीय पत्रकार मञ्च कोसी प्रदेशले विराटनगरमा आयोजना गरेको ‘मिडियाको भूमिका, समस्या, चुनौती र संसदीय निगरानीमा अबको बाटो’ विषयक अन्तरक्रियामा मञ्चका संस्थापक अध्यक्ष गणेश लम्सालले समितिहरूले सरकारका काममा अपेक्षित निगरानी गर्न नसकेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार समितिहरूले विधेयकमाथि छलफलमा सीमित नरही, सरकारका गतिविधिमा सचेत निगरानी, मार्गदर्शन र सुझाव दिने भूमिकामा सक्रिय हुनुपर्छ । तर, बजेट र स्रोत अभावका कारण समितिहरू सरकारको ‘छाया’झैँ बनेको उनले टिप्पणी गरे ।
लम्सालले खर्च प्राथमिकता, कानुन कार्यान्वयन र त्यसमा हुने बेथितिविरुद्ध निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याए । कोसी प्रदेशमा हाल सातवटा संसदीय समिति क्रियाशील छन् । अघिल्लो कार्यकालमा केही समितिले मुख्यमन्त्री कप फुटबल र ट्रायल सेन्टरका अनियमितताजस्ता विषयमा प्रारम्भिक अनुसन्धान गरे पनि प्रतिवेदन सार्वजनिक गर्न नसकेको लम्सालले बताए । पछिल्ला आन्दोलन र विपद्को समयमा पनि समितिहरू निष्क्रिय बनेको सहभागीहरूको गुनासो थियो । लम्सालले भने, अनुगमनमा जाँदा समितिहरूले आफ्नै विज्ञ, इन्जिनियर र प्राविधिकहरू समावेश गर्नुपर्छ, अनुगमन हुने निकायकै सहयोगमा निर्भर हुनु उचित होइन । उनका अनुसार, बैठक बसेर मात्र निगरानी सम्भव नरहेको भन्दै कार्य क्षेत्रमै सक्रियता आवश्यक रहेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले संचारमाध्यमहरू लोकतन्त्र र संघीयताको स्थापनामा सकारात्मक भूमिका निर्वाह गरे पनि पछिल्ला वर्षहरूमा तिनको विश्वसनीयता घट्दै गएको बताए । उनले भने, “सञ्चारमाध्यमको सुदृढीकरण र जनतालाई सही सूचना उपलब्ध गराउने प्रणाली बलियो बनाउनुपर्छ ।
















