बिहार चुनावमा मोदी–नीतिशको गठबन्धन अघिअघि
काठमाडौं । भारतको बिहार राज्यको विधानसभा चुनावको मतगणना भइरहेको छ । प्रारम्भिक रुझानहरूमा बीजेपी र जेडीयूको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले अत्याधिक बहुमत प्राप्त गर्ने संकेत देखिएको छ । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध जानकारीअनुसार बिशान करिब ११ बजेसम्म बीजेपीले ८१ र जेडीयूले ८० सिटमा अग्रता लिएका छन् । त्यसैगरी, लालुप्रसाद यादव तथा उनका छोरा तेजस्वी यादवको आरजेडी ३३ तथा कांग्रेस ५ सिटमा अगाडि छन् ।
एनडीए गठबन्धनमा समावेश एलजेपी (रामविलास) २२ सिटमा र महागठबन्धनमा समावेश भाकपा–माले ६ सिटमा अगाडि चलिरहेका देखिएका छन् । बिहार विधानसभामा कुल २४३ सिट छन् र सरकार बनाउनको लागि कुनै पनि गठबन्धनलाई १२२ सिट प्राप्त गर्न आवश्यक हुन्छ । अहिलेकै रुझान कायम रहे एनडीए गठबन्धनको सिट १८० भन्दा बढी पुग्ने देखिएको छ । यद्यपि, यी केवल प्रारम्भिक रुझानहरू मात्र भएको र मतगणनाको आगामी चरणहरूमा यो स्थितिमा परिवर्तन पनि आउन सक्ने बताइएको छ ।
















