बैंकिङ क्षेत्र संकटमा, तर सबै सेक्टर एकजुट भए अर्थतन्त्रले फेरी गति लिन सक्छ : अध्यक्ष कोइराला
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल सिबिफिनको छैठौं साधारण सभामा बैंकिङ क्षेत्रको हालको चुनौतीपूर्ण अवस्थाबारे चर्चा गर्दै आगामी दिनमा सकारात्मक विकासको सम्भावनामा जोड दिएका छन्। सभामा अध्यक्ष कोइरालाले बैंकिङ क्षेत्रको समग्र सूचाङ्क हेर्दा राम्रो अवस्था देखिएको नभएको उल्लेख गर्दै यसका लागि विभिन्न कारणहरू रहेको बताए। कोइरालाले भने, ‘बैंकिङ क्षेत्रको समग्र सूचाङ्क हेर्दा राम्रो अवस्था देखिएको छैन। यसमा विभिन्न कारणहरू छन्।
मुख्य कारण ‘जेन जी आन्दोलन’ले ल्याएको परिणाम हो, जसले कर्जा विस्तार र निक्षेप संकलनमा समस्या निम्त्याएको छ। त्यसअघि आएको बाढी र पहिरोले पनि बैंकिङ कारोबारमा असर पारेको छ।’ कोइरालाले आगामी दिनमा फेरी आन्दोलन हुन्छ कि भन्ने त्रास अझै बाँकी रहेको बताए। उनले थपे, ‘धेरै नकारात्मक कुरा गरेर केही हुँदैन। सकारात्मक दृष्टिकोण अपनाएर देशका सबै क्षेत्रले मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्छ र ग्रोथ सुनिश्चित गर्नुपर्छ।’ अध्यक्ष कोइरालाले लगानी योग्य वातावरण सिर्जना गर्न नयाँ नयाँ लगानीका अवसर खोज्नुपर्नेमा जोड दिंदै भने, ‘सबै सेक्टर एकजुट भएर अघि बढेमा आगामी दिनमा परिस्थितिहरू सकारात्मक हुनेछन्।
















