केशरमहलमा कारको ठक्करले पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते
काठमाडौं । काठमाडौंको केशरमहलमा कारको टक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको कारले अनियन्त्रित भइ मृतक पैदलयात्रु र ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर दिएको हो । बेहोस अवस्थामा अस्पताल पुर्याइएका पैदलयात्रुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेशराज सुवेदीका अनुसार आज दिउँसो सवा ३ बजे उक्त दुर्घटना भएको हो ।
ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर उक्त कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको थियो । कारको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं महानगरपालिका–१६ बस्ने ६६ वर्षीय सुरेश राज कालिका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । घाइते ट्राफिकको दुवै खुट्टा र छातीमा चोट लागेको छ । ट्राफिक प्रहरीका अनुसार, घाइतेहरूलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ ।
















