नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशद्वारा हुम्लामा बीमा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्ला जिल्लामा विभिन्न सरोकारवालाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालये मंसिर १२ गते शुक्रबार खार्पुनाथ गाउँपालिकासँग, मंसिर १३ गते समकोट वडा नम्बर ५ स्थित विभिन्न महिला समूहका सदस्यहरूसँग र मंसिर १४ गते सिमकोटस्थित मानसरोवर नमूना माध्यमिक विद्यालयमा बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो। गाउँपालिकासँगको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्ञान बहादुर सिंह, वडा नम्बर ५ का वडाध्यक्ष भरतजंग शाही, गाउँपालिकामा कार्यरत कृषि, पशु, इन्जिनियरिङ्ग, लेखा, शिक्षा, रोजगार शाखाका शाखा प्रमुखहरू, कर्मचारीहरू, अगुवा कृषक, बैंकका प्रतिनिधिहरू, हुम्लास्थित बीमकका कर्मचारी लगायत करिब ६० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले हुम्ला जस्तो जटिल भौगोलिक अवस्थितिका जनताहरूको जोखिम व्यवस्थापन तथा आर्थिक क्षतिपूर्ति प्राप्त गर्ने आधारको रूपमा रहेको बीमाको प्रवद्र्धन गर्न पालिकाले आगामी दिनमा थप योजनाबद्ध ढंगले काम गर्ने बताए। त्यसैगरी वडाअध्यक्ष भरतजंग शाहीले जनप्रतिनिधिहरू आफूले बीमा बुझेर आम जनतालाई समेत बुझाउने जिम्मेवारी लिनुपर्ने बताए। यसैगरी महिला समूहसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा सिमकोट वडा नं. ५ स्थित विभिन्न टोल विकास समितिका करिब ५० जना महिला सदस्यहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको समन्वय सिमकोट गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष चिन रावतको समन्वयमा भएको थियो। कार्यक्रममा सहभागीहरूले पशु बीमा, घर बीमा, जीवन बीमा, बीमा दाबी, स्वास्थ्य बीमा लगायतका विषयमा जिज्ञासा तथा प्रश्नहरू राखेका थिए। ग्रामिण जोखिम व्यवस्थापनको सचेतना दिने उद्देश्यले संचालित कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। त्यस्तै विद्यालयसँगको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू गरी करिब १०० जनाको उपस्थिति रहेको थियो। विद्यार्थीहरूलाई बीमा साक्षरता प्रदान गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रमले विद्यार्थीहरूले भविष्यमा हुने जोखिम व्यवस्थापनको लागी बीमा योजना चयन गर्न तथा वित्तीय योजना निर्माण गर्न महत्वपूर्ण हुने विद्यालयका प्रध्यानाध्यापक अमर बहादुर शाहीले बताए। कर्णाली प्रदेशकै भौगोलिक जटिलता रहेको हुम्ला जिल्लामा भएका यस प्रकारका बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रमले यस क्षेत्रको आर्थिक विकास र गरीबी न्यूनीकरणमा महत्वपूर्ण योगदान गर्ने विश्वास नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश कार्यालयका प्रमुख निलप्रसाद लामिछानेले व्यक्त गरे। पालिकासँगको छलफलमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख लामिछानेले आफ्नो भनाई राख्दै जनताको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको स्थानीय सरकारले बीमामार्फत आम जनताको जीवन र सम्पतिको संरक्षण गर्दै गरीबीको पुस्ता हस्तान्तरण रोक्नुपर्ने बताए। यसैगरी प्राधिकरणले दुम्बास्थित बीमकका कर्मचारीहरू र स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको थियो। उल्लेखित कार्यक्रमहरूमा नेपाल बीमा प्राधिकरणको तर्फबाट कर्णाली प्रदेश कार्यालयका प्रमुख तथा उपनिर्देशक निलप्रसाद लामिछाने र सहायक विश्वराज भट्टराईको सहभागिता रहेको थियो।
















