प्लेअफ समीकरणमा पोखरा एभेन्जर्सको सम्भावना कायमै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिने पहिलो टिम बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै प्लेअफमा नपुग्ने समीकरण बनेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । कर्णालीका ओपनर मार्क वाटले ५९ रनको अर्धशतकीय इनिङ खेले पनि टिमलाई जितसम्म डोर्याउन सकेनन् । उनले ३४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । नजिबुल्लाह जद्रानले १५ बलमा दुई चौका र एक छक्कासहित २४ रन थपे । पवन सर्राफले १९ र अर्का ओपनर प्रियांक पन्चालले १६ रन बनाए । कप्तान तथा मार्की सोमपाल कामीले १३ रन जोडे । दीपेन्द्र रावतले १० रन बनाए । पोखराका ऋषि धवन र धनञ्जय लक्षणले समानले समान तीन विकेट लिए । चार ओभरमा ऋषिले ३७ र धनञ्जयले ३१ रन खर्चिए । किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो । एनपीएलको दोस्रो संस्करणमा बनेको यो दोस्रो सबैभन्दा ठूलो योगफल हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध नै सबैभन्दा ठूलो २२० रनको योगफल खडा गरेको थियो । पोखराका ओपनर रोसिङ्टनले अविजित १०८ रनको शतकीय इनिङ खेले । उनले ५८ बलमा ११ चौका र सात छक्का प्रहार गरे । योसँगै रोसिङ्टन एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो ब्याटर बनेका छन् । उनीअघि यो सिजन कर्णालीकै वार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको शतकीय इनिङ खेलेका थिए । समग्र एनपीएलमा भने यो तेस्रो शतक हो । यसअघि पहिलो संस्करणमा पोखराकै आन्द्रियस गौसले शतक बनाएका थिए ।
३४–१ को स्थितिबाट रोसिङ्टनले दोस्रो विकेटका निम्ति जासन रोयसँग १२७ रनको शतकीय साझेदारी गर्दै पोखरालाई विशाल योगफलतर्फ डोर्याएका थिए । पोखराबाट पहिलो खेल खेलिरहेका रोयले ३४ बलमा दुई चौका र तीन छक्कासहित ४६ रन बनाए । धनञ्जय लक्षण २३ रनमा अविजित रहँदा कप्तान कुशल भुर्तेलले १८ रन थपे । पोखराविरुद्ध सात बलर प्रयोग गरे पनि कर्णालीका नन्दन यादव र वार्क वाटले मात्रै विके निकाले । यी दुवैले समान एक विकेट लिए । प्रतियोगितामा पाँचौँ खेल खेलेको पोखराको यो दोस्रो जित हो । पहिलो खेलमा पोखराले विराटनगर किंग्सविरुद्ध ५३ रनको र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २५ रनको हार व्यहोरेको थियो । तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकालेको पोखराले चौथो खेलमा भने लुम्बिनी लायन्ससँग तीन विकेटको हार व्यहोरेको थियो । प्रतियोगितामा छैटौँ खेल खेलेको कर्णालीको यो पाँचौँ हार हो । कर्णालीले यसअघि पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको कर्णालीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध तीन विकेटको र पाँचौँ खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको हार बेहोरेको थियो ।
















