खातामा प्यान र इमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले विवरण अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो । ‘बैंकको पोर्टल प्यानअपडेट डट् एनआईसी एसिया बैंक डट् कम वा मोबाइल बैंकिङ एक एनआईसी एसिया मोबैंक०मा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अद्यावधिक गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । ‘बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ईटीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक छ’ बैंकले भनेको छ ‘उक्त प्यान अद्यावधिक भएपश्चात् निजको करकट्टीको विवरणसो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।’ यसले ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले उल्लेख गरेको छ । साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ । प्यान अद्यावधिक नगराएको कारणले ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा, ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा संस्था जिम्मेवार नहुने बैंकले जनाएको छ ।
















