रोयल इनफिल्डको नयाँ हन्टर ३५० सार्वजनिक

काठमाडौं । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले मोटरसाइकल हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ विशेषता र आकर्षक रङहरू सहितको हन्टर ३५० को सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ हन्टर ३५० को दुई भेरियन्टको मूल्य समेत घोषणा गरेको छ । जसअनुसार सिंगल टोन कलरको अन-रोड मूल्य ४ लाख ९४ हजार ९०० रुपैयाँ र डुअल टोन कलरको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो सँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल बनेको छ । कम्पनीका अनुसार यो मोटरसाइकललाई मेटियर ३५० कै उस्तै प्लेटफर्ममा निर्माण गरिएको हो । नयाँ जे-सिरिज अन्तर्गतको अत्याधुनिक इन्जिनमा तयार गरिएको हन्टर ३५० आधुनिक शैली र शहरी सवारी अनुभव चाहनेका लागि लक्षित गरिएको छ । यसपटकको हन्टर ३५० मा राइडरको अनुभव र सुरक्षालाई ध्यानमा राख्दै धेरै नयाँ विशेषताहरू थपिएका छन् । जसमा रातको समयमा स्पष्ट भिजिबिलिटीका लागि नयाँ एलईडी बत्ती, काठमाडौंको ट्राफिकमा क्लच परिवर्तन गर्न सहज बनाउने र हातलाई आराम दिने प्रविधि, डुअल च्यानल, अगाडि र पछाडि दुवै चक्कामा एबीएस प्रणाली, जसले भिजेको वा चिप्लो बाटोमा पनि सुरक्षित ब्रेकिङ सुनिश्चित गर्छ । यस्तै, पहिलेभन्दा परिष्कृत र आरामदायी यात्राका लागि सुधारिएको सस्पेन्सन रहेको कम्पनीले दाबी गरेको छ । नेपालको सडक अवस्थालाई सुहाउँदो र अफ-रोड यात्राका लागि पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ । ट्रिपर न्याभिगेसन प्यानल जोड्न मिल्ने सुविधासहितको आधुनिक इन्स्ट्रमेन्ट क्लस्टर रहेको समेत कम्पनीले बताएको छ । नयाँ हन्टर ३५० विश्वका चर्चित सहरहरूबाट प्रेरित चार नयाँ रङहरूमा उपलब्ध छ । टोकियो ब्ल्याक, लन्डन रेड, रियो ह्वाइट र ग्राफाइट ग्रेमा उपलब्ध रहेको जनाएको छ । कम्पनीका अनुसार हन्टरमा ३४९ सीसीको सिंगल-सिलिन्डर, फ्यूल-इन्जेक्टेड, एसओएचसी एयर-एण्ड-अयल कुल्ड इन्जिन जडान गरिएको छ, जसले ६ हजार १०० आरपीएममा २०।२ हर्सपावर र ४० हजार आरपीएममा २७ एनएम टर्क उत्पादन गर्छ । पाँच गियर बक्ससहितको यो इन्जिनले सहरमा सहज सन्तुलन र खुल्ला सडकमा उत्साहजनक शक्ति दिने विशेषता राख्छ ।

अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले यो नयाँ उत्पादनले नेपाली बजारमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास व्यक्त गरे । रोयल इनफिल्डका सार्क क्षेत्रका बिजनेस हेड, मोहित बेनिवालले नेपाल रोयल इनफिल्डको लागि विशेष स्थान भएको बताए । उनले छोटो अवधिमै नेपालमा मध्य सेग्मेन्टमा ८३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएकोमा नेपाली ग्राहकहरूप्रति आभार प्रकट गरे । वीरगञ्जस्थित एसेम्बली प्लान्टबाट हालसम्म ३० हजार भन्दा बढी मोटरसाइकल उत्पादन भइसकेको र यसले नेपालमा रोयल इनफिल्डको प्रतिबद्धतालाई दर्साउने उनको भनाइ छ । त्यसैगरी त्रिवेणी ग्रुपका हर्ष सांघाईले अटोमोबाइल क्षेत्रमा कुनै अनुभव नहुँदा पनि रोयल इनफिल्ड जस्तो प्रतिष्ठित ब्रान्डको जिम्मेवारी पाएको बताए । साथै मोटरसाइकल बुक गरेका ११ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण गरिएको थियो । नयाँ लन्चले नेपाली बजारमा रोयल इनफिल्डको उपस्थितिलाई अझ बलियो बनाउने र विशेषगरी युवा राइडरहरूलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । २०२३ जुनदेखि अल्फा अटोमोटिभले सीकेडी मोडेलमार्फत मोटरसाइकल एसेम्बलिङ गर्दै आएको छ । अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डपछि नेपालको नाम रोयल इनफिल्डको पाँचौँ एसेम्बलिङ देशको रूपमा जोडिनु आफैंमा ठूलो उपलब्धि भएको कम्पनीले जनाएको छ । वीरगञ्जस्थित १ लाख वर्गफुटमा फैलिएको अत्याधुनिक एसेम्बलिङ प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको कम्पनीको दाबी छ। यसले नेपाली उपभोक्ताका लागि छरितो आपूर्ति मात्रै होइन, रोजगारी र औद्योगिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *