निर्माण व्यवसायीको १३औँ अधिवेशनमा लामा र पाण्डे प्यानलबिच प्रतिस्पर्धा हुने

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को २६औँ साधारणसभा तथा १३ औँ अधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस अधिवेशनमा मुख्य गरी दुई प्यानलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने केही पदमा स्वतन्त्र उम्मेदवारी समेत घोषणा गरिएको छ । वरिष्ठ उपाध्यक्ष आङ दोर्जी (एडी) लामाले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा लामाले आफ्नो समूहका उम्मेदवारहरू सार्वजनिक गरेका हुन् । जसअनुसार वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारी घोषणा गर्दै लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । यस्तै निकोलस पाण्डेले पनि आफ्नो प्यानल घोषणा गरेका छन् । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनावी प्रतिस्पर्धामा छन् ।

पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने प्रतिबद्धता र सार्वजनिक खरिद ऐनमा रहेका निर्माण व्यवसाय प्रतिकूल दफाहरू खारेज गराउने योजना अघि सारेका छन् । यसै चुनावी सरगर्मीबिच प्रमोद लामिछानेले ‘उपमहासचिव (नीतिगत)’ पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भएका छन् । दुई ठुला प्यानलहरू चुनावी मैदानमा भए पनि लामिछानेले आफू स्वतन्त्र रूपमा निर्वाचनमा उत्रिन लागेको जानकारी दिएका छन् । उनी भन्छन्, ‘अहिले दुईवटा प्यानल बनेका छन्, तर म भने उपमहासचिव पदका लागि स्वतन्त्र रूपमा निर्वाचनमा होमिने तयारीमा छु ।’ उनले महासंघभित्र नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् । महासंघको अधिवेशन आजदेखि सुरु भए पनि भोलि (बुधवार) मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयनपछि मात्रै सबै पदका उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लाग्नेछ । नयाँ नेतृत्व चयनका लागि पर्सि १९ गते मतदान हुने कार्यतालिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *