संस्थापनले समानुपातिक सूची तोडमोड गरेको देउवा पक्षको आरोप
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेरबहादुर देउवा) पक्षको भेलाले संस्थापन पक्षले समानुपातिक सूची तोडमोड गरेर बुझाएको आरोप लगाएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित भेलामा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको मौजुदा कानुन नियम उल्लंघन गरेर, पार्टीको प्रचलित मान्यताविरुद्ध संस्थापन पक्षले गलत प्रकारको निर्णय गरेको बताए । खड्कालाई उद्धृत गर्दै पूर्वकेन्द्रीय सदस्य मानबहादुर नेपालीले भने, “नेपाली कांग्रेस पार्टीले जातीय जनसंख्याका आधारमा संविधानमा व्यवस्था गरिएको पिछडिएको क्षेत्रबाट हामीले एकजना मान्छेलाई पठाउनुपर्थ्यो । एकजना पाउँदा महिला नै हो । दुई पाउँदा एउटा महिला र एउटा पुरुष हो ।
पिछडिएको क्षेत्रमा सूचीकृत विद्या तिमल्सिनालाई हटाएर खस आर्य कोटामा नाम समावेश भएको नाम ल्याएर समानुपातिकमा सूचीकृत गरियो । समानुपातिक सूचीमा दलित, जनजाति, महिला र पिछडिएको क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने सर्वोच्च अदालतको आदेशविपरित कदम चालेको देउवापक्षको आरोप छ । नेता नेपालीले आफू सूचीमा रहे पनि हटाइएको बताए । यस्ता कार्यले संस्थापन पक्षलाई घाटा हुने उनको भनाइ छ । मंगलबारको भेलामा समानुपातिक पद्दतिका निर्णयको विषयमा, टिकट वितरणको विषयमा र समग्रतामा पार्टी सञ्चालनको पद्दतिका बेथितिका विषयमा छलफल भएको छ । भेला भोलि बुधबारका लागि पनि बोलाइएको छ ।
















