बिन्धवासिनी सहकारीका सदस्यलाई कृषक व्यवसाय खेल तालिम प्रदान
काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई लक्षित गरी कृषक व्यवसाय खेल तालिम आयोजना गरेको छ । संस्थाको आयोजना र नेफ्स्कून तथा डिएसआइके जर्मनीको प्राविधिक सहयोगमा संचालन भएको तीन दिने कृषक व्यवसाय खेल तालिममा २५ जना सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष तथा शिक्षा तालिम उप समितिका संयोजक रामहरी शर्मा तिमल्सिनाको सभापतित्वमा भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कुनका कोषाध्यक्ष दिपक थापा रहेको थिए । उनले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बिन्धवासिनी सहकारी काभ्रेको मात्र नभई देशकै उत्कृष्ट सहकारी भएको बताए ।
सदस्यहरुलाई यस्ता तालिमले व्यवसायिक बनाउन मद्दत गर्ने बताउदै नेफ्स्कूनले विन्धवासिनी सहकारीसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यस्तो कार्यक्रम गरिरहने उनले बताए । संचालक समितिका पदाधिकारी, सदस्यहरु र उच्च व्यवस्थापनको विशेष उपस्थिति रहेको समापन कार्यक्रममा तालिममा सहभागी दिनेशप्रसाद अधिकरी र सरिता नेपालले व्यवसाय गरिरहेका र गर्न इच्छुकहरुको लागि तालिम प्रभावकारी र फलदायी रहेको सुनाए । नेफ्स्कूनका खिलनाथ लुइँटेल र राधा पौडेलले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए। संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले प्रमुख अतिथी र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरेका थिए । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ भने उनीहरुलाई आवश्यक पर्ने कृषि तथा पशु सेवा सम्बन्धी प्राविधिक सेवा समेत उपलब्ध गराउँदै आएको छ ।
















