नाइमा एक्स्पोमा चार दिनमै १ लाखभन्दा बढी दर्शकले गरे अवलोकन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित रूपमा अवलोकनकर्ताहरूको घुइँचो लागेपछि आयोजकले शनिबार र आइतबारका बिदाका दिनहरूका लागि विशेष व्यवस्थापन तथा तयारी थालेका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मेला अवधिभर डेढ लाख दर्शकको अपेक्षा गरेकोमा चौथो दिनसम्ममै १ लाख ८ हजारभन्दा बढीले अवलोकन गरिसकेका छन् । सुरुवाती दिनहरूमा भृकुटीमण्डपका खुला क्षेत्र र नेपाल पुलिस क्लबका दुवै तला भरिएर पार्किङको समस्या देखिएकाले बिदाको समयमा आउने थप भीडलाई ध्यानमा राखी पार्किङको विशेष व्यवस्था मिलाइएको नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिएका छन् । मेलाको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका अनुसार बिहान ११ बजे मेला खुल्ने भए पनि १० बजेदेखि नै अवलोकनकर्ताहरूको लाइन लाग्ने गरेको छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस दोस्रो संस्करणको एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । हालसम्म ५२ वटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक भइसकेका छन्, जसमा विशेष गरी विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । अवलोकनकर्ताहरूले विशेष गरी ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, वारेन्टी र रिसेल भ्यालुजस्ता विषयमा चासो राखेका छन् । ग्राहकलाई आकर्षित गर्न गाडी वितरकहरूले मूल्यमा छुट, एक वर्षको बिमा र सवारी कर, निःशुल्क सर्भिसिङ तथा सहुलियत दरमा कर्जाजस्ता आकर्षक सुविधाहरू उपलब्ध गराएका छन् । प्रदर्शनीका साथै मेलामा दैनिक रूपमा ‘नाइमा मोबिलिटी संवाद’ समेत सञ्चालन भइरहेको छ, जसमा स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा सवारी क्षेत्रका विविध विषयमा छलफल भइरहेको छ । साउन ३१ गतेसम्म चल्ने उक्त एक्स्पोमा विभिन्न बैंक, वित्तीय संस्था, बिमा कम्पनीका साथै अन्य व्यावसायिक संस्थाहरूले पार्टनरका रूपमा सहकार्य गरेका छन् ।

















