जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि

काठमाडौं । नेपाल भाषाका जनकवि एवं प्रतिष्ठित साहित्यकार दुर्गालाल श्रेष्ठको मंगलबार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो । विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाएका छन् ।

साहित्य क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई दुई दशकअघि नेपाल भाषा परिषद्ले ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । त्यसैगरी, उहाँलाई सन् २०१० (वि.सं. २०६७) मा प्रतिष्ठित ‘जगदम्बा श्री पुरस्कार’ बाट समेत सम्मानित गरिएको थियो । श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका नेता, मन्त्री तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुधन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायतका उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *