‘आचार्य’ को एक्सन-प्रधान ट्रेलर सार्वजनिक

काठमाडौं । निखिल उप्रेती निर्देशित र अभिनित एक्सन-प्रधान फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक भएको छ । पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत पुगेर गर्ने संघर्षको कथामा फिल्मको कथा आधारित रहेको बुझ्न सकिन्छ । प्रशस्तै एक्सन दृश्य समेटिएकाले एक्सन रुचाउने दर्शकलाई यो फिल्म प्रिय लाग्न सक्छ । कथामा उप्रेतीले आध्यात्मिक दर्शनको सन्देश पनि समावेश गरेका छन् । यसअघि निर्माण, निर्देशन तथा अभिनयसमेत गरेको ‘भैरव’ मार्फत एक्सन अवतारमा चर्चा बटुलेका उप्रेतीले यो फिल्मलाई अझै भव्य तुल्याएको बुझ्न सकिन्छ । पत्रकार सम्मेलनमा उप्रेतीले फिल्मबारे चर्चा गरे । ‘हामी नेपाली फिल्मले पनि विदेशी शैलीका फिल्म बनाउन सक्छौं । त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यौं भने जंग जित्नु छ,’ निखिलले भने ।

आफूले हरेक फिल्ममार्फत केही नयाँ दिने प्रयास गर्दै आएको बताउँदै उनले ‘आचार्य’मा पनि एक्सन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिएको बताए । ‘मैले आफ्नो फिल्ममा केही नयाँ दिने कोसिस गर्दै आएको छु । यसमा पनि एक्सन र कन्टेन्टमा नयाँ दिने प्रयास गरेको छु । दर्शकले फिल्म हेर्दा त्यो अनुभूति गर्नुहुनेछ । ‘आचार्य’ मा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करुमन्चीको अभिनय छ । पूर्णिका सिजापतीले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै अभिनयमा डेब्यू गरेकी छन् । फिल्ममा दीपजङ्ग राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, सोनिका वास्तोलाको अभिनय छ । ट्रेलर हेर्दा हिन्दी फिल्मलाई समेत माथ खुवाउने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *