कामना सेवा विकास बैंकले सुरु गर्‍यो एआईमा आधारित ‘केएस मित्र’ सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । बैंकका अनुसार यस सेवामार्फत ग्राहकले बैंकको वेबसाइटमा उपलब्ध ‘केएस मित्र’ आइकन, इमेलमार्फत बैंकिङ सेवासम्बन्धी जानकारी लिन तथा आफ्ना जिज्ञासा र गुनासो राख्न सक्नेछन् । ‘केएस मित्र’ मार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा, सुविधा, शाखा तथा सम्पर्क नम्बर, ब्याजदर, सेवाशुल्क र अन्य सामान्य जानकारी प्राप्त गर्न सक्नेछन् । ग्राहकको पहिचान तथा खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट तथा केवाईसीसम्बन्धी जानकारीसमेत लिन सकिने बैंकले जनाएको छ ।

त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने तथा मोबाइल बैंकिङ ब्लक गर्ने र त्यसको अवस्था बुझ्ने सुविधा पनि यस प्रणालीमा समावेश गरिएको छ । ग्राहकले ‘केएस मित्र’ मार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वतः टिकट जारी हुने व्यवस्था गरिएको छ । यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अनुगमन र समाधान प्रक्रियालाई सहज बनाउन सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यअनुरूप यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार ‘केएस मित्र’ ले डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्नेछ । बैंकले आफ्नो ‘फ्युचर रेडी’ अवधारणाअनुरूप ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने पहल अघि बढाएको जनाएको छ । यससँगै ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर विशेष बचत खातामार्फत उपलब्ध गराइने ‘डोरस्टेप बैंकिङ’ सेवालाई पनि डिजिटल नवप्रवर्तनसँग जोड्ने अवधारणालाई प्राथमिकता दिएको बैंकले उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *