पशुपति आर्यघाटमा ५ सयमा हड्डी किनबेच,दुई जना पक्राउ
काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको थाहा भएको छ । ढकाल २५ वर्ष देखी पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् ।
शुक्रवार दिउँसो एक जना अपरिचित आएर आफूलाई ‘भगवानलाई चढाउन हड्डी चाहियो’ भनेर आग्रह गरेको ढकालले प्रहरीसँग बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘हड्डी निकालिदिन आग्रह गर्दै ती अपरिचितले मलाई ४ सय रुपैयाँ दिएका थिए ।’ कोट पाइन्ट लगाएका ती अपरिचित घण्टौँ कुरेर बसेपछि आफूले हड्डी निकालेर आफ्नो सहयोगी विनायक मैनालीलाई बट्टामा राखेर दिएको उनले बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग ढकालले भनेका छन्, ‘पहिलो पटक हड्डी निकालेको हुँ, यसअघि यस्तो काम मैले गरेको छैन ।’ उनले दिएको बट्टा मैनालीले ती अपरिचितलाई दिए । हड्डीको बट्टा दिएपछि अपरिचितले मैनालीलाई थप १ सय रुपैयाँ दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । बट्टामा हड्डी हालेर लगेको देखेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए । विनायक मैनाली आर्यघाटमा ढकाललाई सहयोग गर्दै फालिएका सामान र कपडा टिप्ने काम गर्छन् । शवको सानो आकारको हड्डी ५ सय रुपैयाँमा किनबेच भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे प्रहरी वृत्त गोशालाले अनुसन्धान गरिरहेको छ ।