संसद्को गरिमा उच्च राख्न सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिएकी हुन् । उनले पछिल्लो समय संसद्को गुणस्तर खस्कँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याइन् । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गरिनुपर्ने उनले बताइन् । प्रक्रियागत र प्राविधिक विषयलाई कार्यव्यवस्था परामर्श समिति वा अरू अनौपचारिक छलफलबाट टुंग्याउन सकिने उनले उल्लेख गरिन् । उनले सदनको समय जनसरोकारका विषयमा मात्र खर्चनुपर्ने धारणा राखिन् । जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र त्यसबाटै संसद्को खर्च चल्ने भएकाले सांसदले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उनको भनाइ थियो । उनले संसद्को मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरिन् । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ । प्रक्रियाका विषयमा कार्यव्यवस्था बैठक हुन्छ, अन्य विभिन्न बैठकहरू पनि हुन्छन् । हाम्रा अनौपचारिक बैठकहरू पनि हुन्छन् । ती बैठकहरूमा धेरै विषय सुल्झाउन सकिन्छ, दलहरूबीच छलफल गरेर टुंग्याउन सकिन्छ । तर, जब संसद्को बैठकमा बस्छौँ, जनताका मुद्दामै छलफल गरौँ । किनभने, जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुन्छ र त्यही कोषबाट हामी पनि सञ्चालन भइरहेका हुन्छौँ । यो एउटा पाटो हो । अर्को कुरा, जनताले हामीलाई संसद्‌मा आफ्नो आवाज उठाउन पठाउनुभएको हो भन्ने विश्वास गर्नुभएको हुन्छ ।

त्यसैले हामीले पाएको एक मिनेट समय पनि जनताका मुद्दामाथि बहस गर्नमै केन्द्रित गरौँ । शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्य सेवालाई कसरी प्रभावकारी र पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी समाधानयोग्य बनाउने र यस्ता विषयमा सरकारलाई जवाफदेहिताको कसीमा कसरी उभ्याउने भन्ने विषयमा व्यापक बहस गरौँ । यस्ता बहसहरू संसद्‌मा गर्न सक्यौँ भने संसद्को औचित्य र संसद्प्रति जनताले हेर्ने दृष्टिकोण दुवैमा सकारात्मक सुधार आउँछ भन्ने मलाई लाग्छ । यद्यपि, हाम्रा अभ्यासका सन्दर्भमा, यो मेरो मात्र अनुभव हो कि यहाँहरू सबैको पनि अनुभव हो– आफ्नो मनमनै सोच्नुभएको पनि होला । अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ– पहिलाको संसद्को तुलनामा अहिलेको संसद्को गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ । हामीले संसद्‌मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्‌मा आउँदा लगाउने पोसाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ । यदि, हामी संसद्को मान राख्छौँ भने त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ । त्यसो गर्न सक्यौँ भने संसद् मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ । त्यसकारण सम्पूर्ण माननीयज्यूहरूलाई मेरो आग्रह छ– यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो, यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ । हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस् । म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु । यो मेरो आफैँसँग गरेको प्रतिबद्धता हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *