काठमाडौंका ९२ निजी विद्यालयको अनुमति रद्द गर्ने तयारी
काठमाडौं महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृतिप्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न सूचना जारी गरेको हो । विभागका प्रमुख नवराज ढकालले शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको जनाए ।
चित्तबुझ्दो जवाफ नआए विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा शिक्षा विभागले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । यसअघि पनि महानगरपालिकाले दर्ता भएर सञ्चालनमा नरहेका संस्थागत विद्यालयको स्थलगत अनुगमन गरी अनुमति खारेजीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । नगर शिक्षा समितिको बैठकले कागजमा मात्र रहेका तथा यथार्थमा सञ्चालनमा नरहेका संस्थागत विद्यालयको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान, स्वामित्व परिवर्तनलगायत विषयमा कानुन र निर्धारित मापदण्डअनुसार प्रक्रिया अघि बढाउँदै आएको छ ।
















