प्रदर्शनको छैटौँ सातामा ‘गौँथली’
काठमाडौँ । फिल्म ‘गौँथली’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गर्न सफल भएको छ । फिल्मले २३ करोड बढी कमाई गरिसकेको छ । गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ । फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।
बरिष्ठ डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा। कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन् । फिल्म छिट्दै जापानलगायत विदेशका केही देशमा पनि प्रदर्शन हुँदै छ ।
















