इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउँदै देशबन्धु बस्नेत

काठमाडौं । होटल व्यवसायी देशबन्धु बस्नेतले सुनसरीको इटहरीमा अर्को लक्जरी रिसोर्ट बनाउने भएका छन् । सन् २०२२ मा एबी हस्पटालिटी प्रालि कम्पनी दर्ता गरी बस्नेतले अर्को रिसोर्ट बनाउन लागेका हुन् ।बस्नेतले इटहरीमा यसअघि नै पाँच तारे ग्रान्ड सेन्ट्रल होटल निर्माण गरी सञ्चालनमा ल्याइसकेका छन् । काठमाडौंमा उनको पाँचतारे होट मर्क्योर सञ्चालनमा छ । बस्नेतले इटहरीमा अर्को नयाँ रिसोर्ट खोल्न लागेका हुन् । बस्नेतको कम्पनीले इटहरी १६ मा लक्जरी हस्पिटालिटी र इभेन्ट प्रोजेक्ट निर्माण गर्नेछ । उक्त परियोजनामा ३० वटा लक्जरी कोठारभिल्ला, ३ हजार प्याक्स कन्भेन्सन र ब्याङ्क्वेट हल, फाइन डाइनिङ रेष्टुरेन्ट एन्ड बार, स्पा एन्ड वेलनेस सुविधा, स्विमिङ पुल, ल्यान्डस्केप्ड एरिया र आउटडोर इभेन्ट लन्स सुविधा हुने कम्पनीले बताएको छ । एन्टिक प्यालेस इन्स्पायर्ड लक्जरी थिममा रिसोर्ट निर्माण हुनेछ । कम्पनीका अनुसार आयोजनाले प्रिमियम नेपाली तथा भारतीय ग्राहक, कर्पोरेट र सरकारी कार्यक्रम, वेडिङ डेस्टिनेसन र अन्य ठूला भेलालाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइन लागेको हो । कम्पनीले रिसोर्ट निर्माण गर्न १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरेको छ । कम्पनीले परियोजना निर्माण गर्न ऋण(इक्विटीको अनुपात ७५,२५ राखेको छ । हालसम्ममा परियोजनाको १६ प्रतिशत अर्थात् २६ करोड १० लाख रुपैयाँ वित्तीय प्रगति भइसकेको छ । आयोजनाको जग्गा तथा जग्गा विकाससम्बन्धी ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ । सिभिल निर्माणसम्बन्धी काम अझै सुरु हुन बाँकी छन् । हाल कम्पाउन्ड वाल निर्माण भइरहेको छ । लगानीकर्ताले कुल इक्विटीको ४२ करोड २० लाख रुपैयाँमध्ये हालसम्ममा १५ करोड ७०लाख रुपैयाँ लगानी गरिसकेका छन् । १ अर्ब २४ करोड २० लाख रुपैयाँ ऋण लगानी जुटाउने काम भइरहेको कम्पनीको भनाइ छ । कम्पनीले रिसोर्ट सन् २०२८ बाट सञ्चालनमा ल्याउने जनाएको छ । कम्पनीमा बस्नेतको ७४.४७ प्रतिशत र एबी इन्भेष्टमेन्ट होल्डिङको २५.५३ प्रतिशत स्वामित्व छ । एबी इन्भेस्टमेन्ट पनि बस्नेतकै हो ।

कम्पनीको चुक्तापुँजी हालसम्म १५ करोड ७० लाख रुपैयाँ छ । कम्पनीले रिसोर्ट निर्माण गर्न १ अर्ब २४ करोड १९ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । बस्नेतले गत आर्थिक वर्षको फागुनबाट सञ्चालनमा ल्याएको ग्रान्ड सेन्ट्रल होटलले ४ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको छ । गत आवको ५ महिनामा यतिको कारोबार गरेको हो । होटल गत आवमा १४ प्रतिशत अकुपेन्सीमा सञ्चालन भएको थियो । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा १३ प्रतिशत अकुपेन्सीमा सञ्चालन भएको कम्पनीले जनाएको छ । एबी हस्पिटालिटीको पुँजीगत संरचना उच्च ऋणमा निर्भर रहेको छ । कम्पनीको समग्र गियरिङ अनुपात २.४ गुणा छ । त्यस्तै कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात २.६ गुणा रहेको छ । इटहरीमै रहेको ग्रान्ड सेन्ट्रल होटलमा ८० कोठाको सुविधासहित ५ तारे होटल सञ्चालनमा छ । कम्पनीले वाइन्धाम होटल एसिया प्यासिफिक कम्पनीसँग ‘रमदा बाइ वाइन्धाम इटहरी पशुपति मार्ग’ ब्रान्डमा सञ्चालनका लागि लाइसेन्स लिएको छ । बस्नेतको ९९ प्रतिशत स्वामित्व रहेको ग्रान्ड सेन्ट्रलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३७ करोड ७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ३० करोड ७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७ करोड रुपैयाँको रेटिङ गराएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *