आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाको आवेदन

काठमाण्डौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । सो अवधिमा १४ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ। कार्यकारी निर्देशकको लागि महोत्तरीका कमलेन्द्रलाल कर्ण, काठमाडौँका उत्तरकुमार रेग्मी, चितवनका डा. डोलप्रसाद चापागाई, टोखाका सहदेव चन्द, मोरंगका पंकजकुमार दास, धनुषाका रामदेव यादव, तथा सप्तरीका संजिवकुमार देव रहेका छन् । त्यस्तै काठमाडौँका दिलिप शेखर श्रेष्ठ, मोरङका माधव रेग्मी, गोरखाका चण्डिका प्रसाद भट्ट, दाङका बसन्त कुमार पाण्डे, बाग्लुंगका डोलिन्द्र प्रसाद शर्मा, ललितपुरका शत्रुध्न प्रसादपुडासैनी र मोरङका आमोद प्रसाद चौधरी रहेका छन् ।

अब वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा रहेको छनौट समितिले आवेदकको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लिने छ । त्यस मध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्ने छ, जस मध्येबाट मन्त्रिपरिषदले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ । आयल निगममा ०७५ यता खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । आवेदन दिएका मध्ये सहदेव चन्द हाल नेपाल राष्ट्र बैंकमा उपनिर्देशक पदमा कार्यरत छन् । उनी शेर बहादुर देउवाका भान्जा भएको बताईएको छ । त्यस्तै बसन्तकुमार पाण्डे हाल हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक छन् । गोरखाका चण्डिका प्रसाद भट्ट उद्योग मन्त्रालयमातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक छन्। बाग्लुंङका डोलिन्द्र शर्मा हाल सीवाईसी नेपाल लघुवित्तका प्रबन्ध संचालक छन् । उनी साझा प्रकाशनका महाप्रबन्धक भईसकेका छन् । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २६ गते मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त छ । २०७८ फागुन २६ गते ३ वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका थानीले कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *