समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक- प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन् ।
जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए । “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भने, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।” उनले भने ।
प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए । उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए ।
“पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,” प्रचण्डले भने, “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।” उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए ।
प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धीहरू आम जनसमुदायसम्म पुर्याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताए ।