दोलखामा सहकारीका अध्यक्ष र व्यवस्थापकहरू एकै ठाउँ, वर्तमान चुनौतिसँग जुध्न ११ बुँदे प्रतिवद्धता जारी

चरिकोट । दोलखामा सहकारीका अध्यक्ष र व्यवस्थापकहरूबीच अन्तर्क्रिया सम्पन्न भएको छ । ‘सहकारीको वर्तमान चुनौती व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता’ विषयक अन्तर्क्रिया कार्यक्रम भएको हो । जिल्ला सहकारी संघ लि। दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि। र व्यवस्थापकहरुको साझा मञ्चको संयुक्त आयोजनामा दोलखा जिल्ला भित्रका १० करोड माथि पूँजी भएका संस्थाका अध्यक्ष र व्यवस्थापकहरू एकठाउँमा जुटेका हुन् । जिल्ला सहकारी संघ लि। चरिकोट, दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षता र प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुखआतिथ्यतामा सम्पन्न कार्यक्रममा दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि। का अध्यक्ष भुमिराज खड्काले स्वागत गरेका थिए । कार्यक्रमका बारेमा व्ययवस्थापकहरुको साझा मञ्चको तर्फबाट दिपक बस्नेतले गरेको प्रस्तुतिकरणमाथि ईश्वर न्यौपाने र नवराज दहालले टिप्पणी गरेका थिए । जिल्ला सदरमुकाम चरिकोटमा सम्पन्न भएको कार्यक्रममा २८ सहकारी संस्थाहरुको तर्फबाट सहभागिता रहेको थियो । कार्यक्रमले ११ बुँदे साझा प्रतिवद्धता समेत जारी गरेको छ। प्रतिवद्धता यसप्रकार रहेको छः

१. सहकारीको मूल्य, मान्यता र सिद्वान्त अनुरूप शेयर सदस्यलाई सेवा प्रवाह गर्न गराउन हामी सहकारी संस्थाहरूलाई सार्वजनिक अपिल गर्दछौ ।

२. सहकारी संस्थाले सदस्यबाट बचत संकलन गरी सबैका लागि एक र एकका लागि सबै भन्ने मान्यता अनुसार ऋण परिचालन गरिएकोमा हाल केही ऋण लिएका शेयर सदस्यले ऋणको कारोबार नियमित गर्न आलटाल गरेका कारण संस्थाको वित्तीय अवस्था प्रभावित भएको र रेहकारी संस्थाले नेपाल राष्ट्र बैंक र सहकारी विभागको निर्देशन अनुसार ऋण वर्गिकरण गरी १२ महिनाभन्दा बढी भाखा नाघेको ऋणमा पूर्ण ऋण सुरक्षण, १२ महिना भित्रको भाखा नाघेको ऋणका लागि ३५ प्रतिशत सुरक्षण र असल ऋणका लागि १ प्रतिशत सुरक्षण गरी बाँकी रहेको रकम मात्र नाफाको रूपमा देखाउन मिल्ने भएकाले सो प्रति सबै शेयर सदस्यको ध्यान आकर्षित गरी २०८१ सालको असार मसान्तसम्म आफ्‌नो ऋण नियमित गर्न सामुहिक अपिल गर्दछौं ।

३. हाल सहकारी संस्थाले निर्धारण गरेको ब्याजदर र हर्जनामा धेरै फरक भएको भन्ने प्रतिक्रिया आइरहेकाले आगामी दिनमा दोलखा जिल्लामा रहेका सबै उद्देश्यका सहकारीहरूले भाखा नाघेको रकममा मात्र अधिकतम ३ प्रतिशत भन्दा बढी हर्जना नलिने ब्यवस्था गर्न गराउन प्रतिबद्धता व्यक्त गर्दछौं ।

४. दश करोडभन्दा माथिका सहकारीहरूले आगामी बाह्य लेखा परीक्षण प्रतिवेदन अनिवार्य रूपमा ल्ँच्क् विधिमा सिए फर्महरूबाट गर्न गराउन र त्यसमा औल्याइएका विषयहरूको शुभमरको योजना बनाई लागू गर्न तयार छौं ।

५. धितो सुरक्षणमा लगानी हुने ऋणलाई सुरक्षित र प्रभावकारी बनाउनका लागि धितो मूल्यांकनलाई प्राविधिक मूल्यांकन गराई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार शहरी क्षेत्रको मुल्यांकनमा बढीमा ५० प्रतिशत र अन्य क्षेत्रको हकमा ४० प्रतिशतसम्म मात्र ऋण लगानी गर्न प्रतिबद्ध छौं ।

६. सहकारी संस्थालाई दिगो र प्रभावकारी रूपमा सञ्चालनका लागि राजनीतिक दल, सहकारीकर्मी, सरोकारवाला निकाय तथा सञ्चारकर्मी र नागरिक समाजको समेत भूमिका महत्वूर्ण मानी विद्यमान सहकारीका समस्याहरूलाई समाधान गरी सहकारी संस्थाको शुद्धिकरणका लागि सार्वजनिक अपिलका लागि आव्हान गर्दछौं ।

७. सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरूलाई गलत आरोप प्रत्यारोप गर्ने, ऋण असुलीमा जांदा धम्क्याउने, तर्साउने र गाली, बेइज्जत गर्ने प्रवृत्ति बढेकाले सद को बचत सुरक्षाका लागि ऋण असुली प्रक्रियामा सहयोग गरिदिन सबै पक्षमा हार्दिक अपिल गर्दछौ । ऋण असुलीका लागि अवलम्बन गरिएका तौरतरिकाहरू फरक फरक हुन सक्छन् । अन्ततः संस्थाले धितो जलामी गर्ने संस्थागत अधिकारलाई समेत कुण्ठित गरी अस्वभाविक दबाव सिर्जना नगर्न सबै पक्षमा हार्दिक अपिल गर्दछौ ।

८. भूकम्प, कोभिड १८ र विश्व आर्थिक मन्दीका कारण केही ऋण लिएका शेयर सदस्यबाट ऋण कारोबार नियमित हुन नसकी भाखा नाघी संस्थाको वित्तीय स्वास्थ्य प्रतिकुल भएको प्रति सचेत रही २०८१ सालको असार मसान्त भित्र आफ्‌नो कारोबार नियमित गर्नका लागि सबै ऋणी सदस्य तथा परिवारलाई हार्दिक अपिल गर्दछौं ।

९. जनप्रतिनिधि, सहकारीका सञ्चालक, पूर्व सञ्चालक तथा कर्मचारी, राजनितिक दलका नेता तथा कार्यकर्ता, शिक्षक, कर्मचारी, पूर्व जनप्रतिनिधिहरूले सहकारी संस्थाबाट लिएको ऋण समेत जोखिममा परेकाले सरोकारवाला सबैमा आफ्‌नो कारोबार यथाशिघ्र नियमित गर्नुहुन हार्दिक अपिल गर्दछौं ।

१०. सहकारी संस्थाबाट परिचालन गरिएको ऋण असुलीका लागि दोलखा जिल्लाको ८ वटै स्थानीय तहबाट आवश्यक पहल तथा सहजिककरण गरी नेपालको सहकारी अभियानको नमूना जिल्लाको साख कायम राख्न सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।

११. सहकारीले पर्याप्त मात्रामा जोखिम कोषको व्यवस्था नगरी शेयर लाभांश वितरण र वार्षिक साधारण सभालाई खर्चिलो र भड्किलो नबनाउन तथा साधारण सभामा सहभागी भएवापत वितरण गरिने यातायात खर्चलाई एकरूपता कायम गर्न यो साझा प्रतिबद्धता जारी गर्दछौ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *