भारतमा रेल दुर्घटना, दुर्घटनामा परी मृत्यु हुनेमा चार नेपाली सहित १३ जना
काठमाडौँ । भारतको महाराष्ट्रमा रेलले किचेर चार नेपालीसहित १३ जनाको मृत्यु भएको छ । रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको हो ।
बुधबार साँझ लखनऊ–मुम्बई पुष्पक एक्सप्रेसका यात्रुहरूले आगलागी भएको अफवाहको कारण रेलबाट हाम फाल्दा नजिकैको ट्रयाकमा तीव्र गतिमा रहेको कर्नाटक एक्सप्रेसले ठक्कर दिँदा उक्त घटना भएको हो । रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको रेलले ठक्कर दिँदा यात्रुहरुको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा चार जना नेपाली नागरिक रहेको समेत भारतिय मिडियाले जनाएको छ । मृत्यु हुनेमा नेपाली नागरिकहरु लछिराम पासी, नन्दराम विश्वकर्मा, कमला भण्डारी, हिमु विश्वकर्मा लगायत रहेको भारतीय मिडियाहरुले जनाएको छ । मृतक १३ मध्ये ७ जनाको सनाखत भएको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरूलाई ठक्कर दिएको थियो।
दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । सो दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको समेत बताइएको छ । यसैबीच महाराष्ट्र राज्य सरकारले तत्काल राहतका लागि मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
पछिल्लो समय भारतमा रेल दुर्घटनाका समाचार आइरहदा यसले ठुला संख्यामा मानवीय क्षति समेत पुर्याएको छ । भारतमै केही बर्षअघि अथा्त सन् २०२३ मा एउटा यात्रु रेल र स्थिर मालवाहक रेल ठोक्किँदा करिब तीन सय जनाको मृत्यु भएको थियो ।