स्वास्थ्य सचिवमा तीनजना सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पद रिक्त छ । यसअघिका सचिव डा.रोशन पोख्रेल फागुन ११ गते अवकाशमा गएसँगै सचिवका निम्ति तीनजना प्रतिस्पर्धामा छन् । स्वास्थ्य र प्रशासनतर्फ गरी दुई सचिव रहने मन्त्रालयमा बाह्रौँ तहका तीन अतिरिक्त सचिव डा. विकास देवकोटा, डा. संगीता कौशल मिश्रा र डा. टंक बाराकोटी सचिवका दाबेदार छन् । लोक सेवा आयोगअन्तर्गतको बढुवा समितिको समोबार बसेको बैठकले उनीहरू तीनैजना अतिरिक्त सचिवको नाम सिफारिस गर्ने निर्णय गरेको हो । सचिवका दाबेदारमध्ये देवकोटा हाल स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा छन् । मिश्रा र बाराकोटी स्वास्थ्य मन्त्रालयमा नै कार्यरत छन् । देवकोटाले स्वास्थ्य सेवामा २८ वर्ष अनुभव बटुलेका छन् । उनी २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका थिए ।
कोरोनाकालमा मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका उनी १२औँ तहमा बढुवा हुनुअघि लुम्बीनी प्रदेशको स्वास्थ्यसचिव थिए । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन् । यस्तै, २०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी पनि २०७९ चैत १३ मा नै १२औँ तहमा बढुवा भएका थिए । त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारीमा थिए । स्वास्थ्य सेवामा उनको २५ वर्ष अनुभव छ । यस्तै, अतिरिक्त सचिव मिश्रा पनि सचिवका निम्ति बलियो दाबेदार हुन् । २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनी एक वर्षमात्रै सरकारी सेवामा रहिन् । खुला प्रतिस्पर्धामार्फत् २०६९ मा उनी पुनः सरकारी सेवामा फर्किइन् । ११औँ तहमा नाम निकालेकी मिश्राले कोसी तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको प्रमुखको जिम्मेवारी निभाएकी थिइन् । २०८० भदौ १३ देखि स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा रहेकी उनी २०८१ असोजदेखि मन्त्रालय तानिएकी हुन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार १२औँ तहका अतिरिक्त सचिव वा ११औँ तहमा पाँच वर्ष काम गरेका कर्मचारीमध्येबाट ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सचिव नियुक्त हुने व्यवस्था छ ।