‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा
काठमाडौं । लोकप्रिय टिभी कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ । प्रस्तुतकर्ता थ्री प्रोडक्सनले शो आउने जानकारी दिएको हो । होस्ट तथा निर्देशक विशाल भण्डारीसहित सगुन पाण्डे र हिरण बस्नेतले शो निर्माण गर्दैछन् । यसअघिको ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गरिएको छ । पत्रकार सम्मेलनमा निर्देशक भण्डारीले नयाँ सेटअप र संरचनामा शो दर्शकमाझ आउन लागेको बताए । उक्त अवसरमा शोमा हास्य प्रस्तुति दिने कलाकारको लाइनअप समेत सार्वजनिक गरियो । प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले पनि दर्शकलाई हँसाउनेछन् । अध्यक्षको रुपमा दीपाश्री निरौला निरन्तर छिन् । शो आउने मितिको औपचारिक घोषणा भने गरिएको छैन । ‘शो चाँडै ल्याउने तयारीमा छौं । यसको औपचारिक घोषणा चाँडै हुनेछ’, निर्देशक भण्डारीले भने । उक्त अवसरमा शोको रोचक ट्रेलर समेत सार्वजनिक गरिएको छ । शोकी अध्यक्ष दीपाश्रीले बिकाउनुभन्दा पनि टिकाउनु मूलमन्त्र शोको रहेको बताइन् । ‘हास्यव्यंग्य गरेर पेट पाल्न एकदमै चुनौतीपूर्ण छ’, उनले भनिन्, ‘गाह्रोका बाबजुद पनि दर्शकलाई खुसी पार्न सके सबैभन्दा राम्रो । यसका लागि हामी लागिपरेका छौं । बिकाउनभन्दा पनि टिकाउनु मूलमन्त्र हो ।’ शोबाट आफूले पनि सिकिरहेको उनले बताइन् । ‘नयाँ पुस्तासँग धेरै सिकिरहेको छु । आउने सिजनबाट पनि धेरै कुरा सिक्नेछु । पत्रकार सम्मेलनमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले यो शोमार्फत लुक एन्ड फिल, स्टुडियो सेटअप, स्क्रिप्टिङ र प्रस्तुतिलाई उचाईमा लैजान सकिने बताए । ‘हामीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम बनाउन हरदम कोसिस गरिरहेका छौं’, उनले भने, ‘भविष्यमा हेर्ने तरिकामा पनि विविधता प्रस्तुत गर्दै दर्शकलाई नजिक जोड्ने प्रयास हुनेछ ।
उनले अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत प्रसारण हुनेगरी कार्यक्रम निर्माणको तयारी भएको बताए । शोसँग लामै समय सहकार्य हुने समेत कँडेलले बताए । ‘पर्दामा देखिने कार्यक्रमलाई पर्दा पछाडिबाट साथ दिन सके अझै गुणस्तरीय हुन्छ’, उनले भने । शोको लेखकको रुपमा सन्तोष खनाल, सन्देश देवकोटा, रजनीश अर्याल लगायतलाई पनि चिनाइएको थियो । ‘यसपटक हामीले डेढ घण्टा हँसाउने प्रयास गर्नेछौं’, निर्देशक भण्डारीले भने, ‘यसपटक भव्य सेटमा कार्यक्रम सञ्चालन हुनेछ । यसअघि आर्थिक अभावमा सेटमा कम्प्रोमाइज गर्नुपरेको थियो । यसपटक हिमालय टिभीसँगको सहकार्यमा ठूलो सेट तयार हुनेछ । यसपटक ‘स्टेज कमेडी’मा जोड दिने तयारी छ । दुई(तीनजना कमेडियनले अतिथिसँग अन्तरक्रिया र व्यंग्य समेत गर्नेछन् । एक वर्षसम्म ५२ एपिसोड तयार गर्ने र त्यसपछि ‘कमेडी च्याम्पियन’मा जुट्ने निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिको तयारी छ । यो शो हिमालय टिभीमा प्रसारण र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुनेछ ।