‘क्यान्डिडेट क्लब’को अभ्यास रास्वपाको अनैतिक राजनीतिको सुरुवात हो : अध्यक्ष साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’ को आलोचना गरेका छन् । ‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात भएको उनको भनाइ छ । शनिबार वीरगञ्जमा बसेको आजपाको मधेस प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै स्थानीय तहलाई निर्दलीय बनाउने भन्दै भोट मागेको रास्वपाले अहिले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ गठन गर्नु विरोधाभासपूर्ण भएको बताए ।
रास्वपाले चुनावका बेला एउटा कुरा गर्ने र व्यवहारमा अर्कै अभ्यास गर्न खोजेको उनको भनाइ थियो । साहले रास्वपाका नेता कार्यकर्ताहरूमा देश र जनताको भन्दा पद र कुर्सीप्रतिको चिन्ता बढी देखिएको आरोपसमेत लगाए । उनले भने, घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ । चुनाव कसरी जित्ने, कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो । देश र जनताका बारेमा यिनीहरूलाई कुनै चिन्ता छैन । यस्तो अवसरवादी सोच भएकाहरूबाट सचेत हुनुपर्छ । साहले रास्वपाका कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने गरेको आरोप लगाए । सामाजिक सम्बन्धको महत्त्व नबुझ्दा उनीहरूले सामाजिक सञ्जालमा गालीगलौज गर्ने गरेको शाहको भनाइ थियो ।

















